Connect with us
Advertisement

गीति लेखनका सूत्रधार रत्नसमशेर थापाको जीवनी

Published

on

गीति लेखनका सूत्रधार अग्रज रत्न समशेर थापा अब हामी माझ रहेनन् । रहे त तिनै कालजयी सिर्जना । उनै सर्जक थापाको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरिएको छ ।

थापाको जन्म र बाल्यकाल
रत्न समशेर थापाका पूर्खाहरु काभ्रे जिल्लाको ओपी भन्ने ठाउँबाट बसाइँ सरी काठमाडौ आएका हुन् । उनका कुप्रा बाजे केशरसिंह थापाका दुई बहिनीहरु धीर शमसेरले विवाह गरेपछि एक जना फुपूकी सन्तानलाई शमसेर, र अर्की फुपूका सन्तानलाई जङ्गको उपाधी राणाहरुले दिएका हुन् ।

डायमण्ड शमसेरले नेपाली उपन्यास (सत्प्रयास) मा चन्द्र शमसेरका मामा केशरसिंह थापा भनी उल्लेख गरेको पाइन्छ । यिनै केशरसिंहका पनाति हुन् कवि तथा गीतकार रत्न शमसेर थापा ।

केशरसिंहका कान्छा छोरा पद्म शमसेरका ७ भाइ छोरामध्ये माइला छोरा तीर्थ शमसेर थापाका ४ सन्तानमध्ये एक मात्र छोराका रुपमा उनी १९९४ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मिए ।

आमा स्व. तुलाकुमारी जुद्ध शमसेरका हजुरिया कर्नेल स्व. इन्द्रबहादुर कार्कीकी छोरी हुन् । त्यसो त राणाकालमै बाबु तीर्थ शमसेरले कोलकोत्ताको सेन्ट जेभियर्स कलेजबाट स्नातक पास गरेका थिए ।

कमलपोखरीको मूलबाटोबाटै देखिने त्यो अग्लो तीन तले पुरानो ढाँचाको सेतो घरले हिजोसम्म शमसेर थापाहरुको पारिवारिक इतिहासको परिचय दिन्थ्यो । जहाँ थापाले बाल्यकाल रमाउँदै बिताएका थिए । तर २०७२ सालको महाभूकम्पले यसलाई भग्नावशेषमा बदलिदियो ।

शिक्षादीक्षाः
४\५ वर्षको उमेरमै श्रीपञ्चमीको दिन थापाले घरबाटै शिक्षा आरम्भ गरे । यो क्रममा महाकवि देवकोटादेखि रामप्रसाद जोशी, दाहाल सर, हीरारत्न र मोहनविक्रम यिनका गुरु रहे । दरबार हाइस्कुलबाट वि.स.२००९ मा म्याट्रिक दिए पनि उनले एकपल्ट असफलता बेहोर्नुपरेको थियो ।

२०१० मा विभिन्न कठिनाइका बाबजुद पनि उनलाई सफलता हात लाग्यो । तत्पश्चात थापाको उच्चशिक्षा त्रिचन्द्र कलेजमा शुरु भयो । उनी दिवा सेवाको कक्षामा विज्ञान विषय लिएर भर्ना भए । अतिरिक्त समयमा स्कुलको शिक्षक पनि बन्न पुगे । २०१२ मा दोस्रो वार्षिक परीक्षा दिँदै गर्दा उनी अचानक बेहोश भए । यही कारण उनको परीक्षा पूरा हुन सकेन । यसरी परीक्षा अड्केका र अलमलमा परेका थापा जोगबनीको चिनी कारखानामा जागिरे हुन पुगे । फेरि जागिरे जीवनबाट पनि हात धुँदै २०१५ मा काठमाडौं फर्किए ।

२०१६ बाट फेरि त्रिचन्द्र कलेजमा भर्ना भई आफ्नो उच्च शिक्षा अगाडि बढाए । यसैबेला स्व. नातिकाजी, नारायण गोपाल, सुशीला कंसाकार, दीपक अर्याल, उत्तम कुँवर, मदन रेग्मी, बालमुकुन्ददेव पाण्डे, डा. लोकविक्रम थापा, डा. पुष्करराज सत्याल, डा. ठाकुरप्रसाद पन्त, पाइलट स्व. शिवबहादुर थापा, बासुदेव त्रिपाठी, जनकनाथ प्याकुरेल आदि सहपाठी र सहकर्मीका रुपमा उनले पाए । विशेषगरी नारायण गोपाल, नातिकाजी, दीपक अर्याल र उनी कलेजको वार्षिक उत्सवमा निकै सक्रिय देखिन्थे । यसै समयमा आपसको सहयोग र संयोगबाट स्रोताको मन जित्दै समाजमा आफ्नो परिचय दिन सफल साबित भइसकेका थिए ।

यसै समयमा थापाको पहिलो गीत ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार…’ नारायण गोपालको स्वरमा पहिलो पटक रेडियो नेपालबाट प्रसार भएको थियो । साथै ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…’, ‘बिछोडको पीडा नसकी खप्न…’, ‘जाग, लम्क चम्क हे…’, ‘आँखाको भाका…’, ‘स्वर्गकी रानी….’, ‘मधुमासमा यो दिलको बाग…’, ‘कुञ्जमा गुञ्जियो…’, ‘मौन छु आँशु पिई…’, ‘सेरो र फेरो मेरो अँध्यारो पारी गयौ…’ गरी उनका कुल १० गीत नारायण गोपालले गाए । जुन गीत आज पनि कालजयी छन् ।

यसरी २०२२ मा स्नातक पूरा गरी २०२६ मा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरे । २०१० देखि शुरु भएको उच्च शिक्षा विभिन्न समस्याका बीचमा उनले २०२६ सालमा आएर पूरा भयो ।

दाम्पत्य जीवन र परिवार
४६ वसन्त पार गरेपछि सप्तरीको कञ्चनपुर निवासी २६ वर्षीया भैरवी बस्नेतसंग २०४२ बैशाख महिनामा उनको विवाह सम्पन्न भयो । विवाहको ४ वर्षको अन्तरमा २ छोराको जन्म भई ४ जनाको सुखी परिवार बन्यो ।

आर्थिक स्थिति
मध्यमवर्गीय थापा खलकको ठूलो परिवारमा जन्म भए पनि प्रायः सबैजसो सेनामा जागिरे भएकाले खासै आर्थिक संकटको स्थिति नआएको देखिन्छ । पुख्र्याैली सम्पत्तिको रुपमा कमलपोखरीको २२ रोपनी जग्गा अंशबन्डा भइसकेपछि उनी त्यहीँ अलग्गै आफ्नै निवासमा बसे । जागिर खासै नखाए पनि आफ्नै लेखनप्रति इमान्दार रही यसैलाई पेशा तथा कर्म क्षेत्र बनाएका छन् ।

पुरस्कार र सम्मान
नेपाल राष्ट्रिय पुस्तकालयद्वारा आयोजित गायन प्रतियोगितामा २०१४ मा पहिलो र छिन्नलता पुरस्कार २०४० तथा गद्दी आरोहण २०५३ उनले प्राप्त गरे । रेडियो नेपालद्वारा विशिष्ट कदरपत्र २०५३, साधना सम्मान र युगकवि पुरस्कार २०५६, मुक्ति पुरस्कार २०५६ नेपाल सम्मान २०५७, भीमनिधि तिवारी सम्मान २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८, प्रथम गोर्खा दक्षिण बाहु चौथो, बीपी स्मृति पुरस्कार र कान्तिपुर विशेष सम्मान इमेज लाइफ टाइम अचिभमेन्ट आदि उनले पाएका सम्मान तथा पुरस्कार हुन् ।

विदेश भ्रमण
विदेश भ्रमणमा दिल्ली, पाकिस्तान र मुम्बईको भ्रमण अरु भन्दा विशेष, विशिष्ट र अविष्मरणीय छन् ।

मुम्बईमा सङ्गीतकार जयदेवले गीत माग्दा आफूसँग गीत नहुनु र पाकिस्तानी सङ्गीतकार वाजिद अलि नासादले तुम्हारा बापका गीत ए हए कि नहीँ भन्दा घुँडा समाती नतमस्तक हुनु, दिल्लीमा प्रदीप रिमालले साहिर लुध्यन्बी लाई हि इज अल्सो पोएट फ्रम नेपाल भन्दा साहिरले यु मस्ट कम टु माइ प्लेस भन्नु र दिल्लीकै प्रमुख कवि गिरिजाकुमार माथोरले कविता वाचन गरेको सुनेपछि (आपका कविता विराट हे भन्नुस्) भन्नु उनका घतिला र दिमागी डिस्केटमा इरेज नै नहुने इभेन्टहरु हुन् । धुँदा पनि नजाने गरी बसेका सम्झनाका टाटाहरु हुन् । प्रसंशा चाहिन्छ र काम अनुसार पाउनुपर्छ भन्ने मान्यतामा अडिग थापा यसरी अरुले आफ्नो बारेमा व्यक्त गरेको कुराले प्रफुल्लित र आल्हादित मुद्रामा वर्षापछिको आकाश खुलेझैँ खुल्थे । जस्तै,

मलाई उठाउने तिमी नै हौ भन्दै गायक माणिक रत्नले १०५ प्रतिशतमा १०० नै क्रेडिट दिन्छु भन्दा उनी अहिलेसम्म आधाआधामै सम्झौता गरौं भन्दछन्, तर माणिक रत्नले नमान्दा ठीकै छ भनी हर्षित मुद्रामा स्वीकार्छन् ।

‘१०० भन्दा अर्को ५ मा जाँदा अतिशयोक्ति हुने हुनाले मैले एकल गायक तथा सङ्गीतकार भई उनीसँग काम गरे पनि कुनै ५ दिन सक्या छैन । किनकि अग्रज माणिकले सय मा सय दिई सकेपछी अब कुनै अतिरिक्त प्रतिशतको खाँचो छैन भन्ने मेरो ठम्याइ हो’, उनी भन्छन् ।

प्रभाव र प्रेरणा 
विशेषत घरेलु वातावरण, स्वर्गीय आमा, कान्छा मामा, काइँला काका मणि समशेर (जसले राग गाउँदा माइक नै फुट्लाजस्तो भएर १० फिट पर राख्नु पथ्र्याे), गायन शिरोमणि यज्ञराज शर्माले उनलाई सेतो साँढे भनी उपाधी नै दिएका थिए । उनीहरुकै प्रभाव र प्रेरणाद्वारा थापाले सानैमा तबला बजाउन सिके ।

रोमान्टिक कविहरुका कविता मन पराउने थापा अप्रत्यक्ष स्वदेशी तथा विदेशी कविहरुबाट प्रभावित भएको स्वीकार्छन् । उर्दू र हिन्दी लेखनमा साहिर लुदयान्बि, शकिल बदायी, मर्जु सुल्तानपुरी, राजा मेदि अलिखां, शैलेन्द्र, प्रदीप, गोपालसिंह नेपालीबाट उनी प्रेरित थिए । नेपालका अग्रज तथा समकालीन कवि तथा गीतकारहरु लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, रमेश धिताल, किरण खरेल, भीम विराग, भूपि शेरचन, वैरागी काइँला, ईश्वरबल्लभ, प्रेमविनोद नन्दन, मोहनहिमांशु थापा, मोहन कोइराला, कृष्णभक्त आबिाट उनी प्रेरित थिए ।

सानो उमेरमा स्रोता र पाठकमा आफ्नो वास्तविक नामबाट नआऔँ भन्ने विचारले होला, २००८ सालमा रचित उनको पहिलो रचना ‘मन पर्छ त्यो रात (आरएस मधुरको) नामबाट पटनाको म्याग्जिनमा छापियो । तर मित्र जनकनाथ प्याकुरेलको सुझावअनुसार वास्तविक नाम राखी रचना प्रकाशन गर्न थाले ।

अर्थपूर्ण र आफूलाई चुनौती दिने कुनै पनि विषयमा थापालाई अझै लेखौझैँ लाग्थ्यो । कलम र शरीरमा ताकत रहुन्जेल अष्टचिरञ्जीवीले काललाई जितेझैँ आफू पनि लेखनमा लागिरहने उनको भनाइ थियो ।

स्वागत गीत, देशभक्ति गीत, भजन, अभिनन्दन, चेतनामूलक गीत, प्रेमपूर्ण गीत, गजल, ठुमरीलगायत धेरै प्रकारका गीत उनले लेखेका छन् ।
जीवनलाई ईश्वरको वरदानको रुपमा लिने थापा धुनमा गीत लेख्न सक्नुको रहस्यमा सानैदेखि तालको आफूमा हुनु नै कारक भएको बताउँथे । अम्बर गुरुङको धुनमा लेख्न आफूबाहेक अरुले नसकेको उनी सुनाउँथे । यसको ज्वलन्त प्रमाण क्वायर लेखन हो । उनी विशेषत अन्त्यानुप्रास मात्र नमिलाई पुरै छन्दमा गीत लेख्न रुचाउँथे ।

यो उमेरसम्म मात्र गीति क्षेत्रलाई अँगाल्दै जागिरे जीवनको वास्ता नगरी आम्दानीविहीन क्षेत्रसँग झुमेर बस्न चाहनु र बस्न सक्नु, धैर्यको बाँधमा रत्तिभर हलचल आउन नदिनु, अत्यन्त ठूलो त्याग र निष्ठा भनी हामी सबैले स्वीकार्नैपर्छ ।

उनले नेपालका प्रायः सबै कलाकारसँग काम गरे । नारायण गोपाल, प्रेमध्वज प्रधान, माणिक रत्न, पन्नाकाजी, पीएल श्रेष्ठ, अम्बर गुरुङ, फत्तेमान, योगेश वैद्य, रुबि जोशी, भक्तराज आचार्य, नगेन्द्र हाडा, उदय समशेर, कनैया, दीप श्रेष्ठ, दीपक जङ्गम, दीपक खरेल, ओमविक्रम बिष्ट, रमेश ताम्राकार, रबिन शर्मा, निर्मल रिमाल, प्रकाश श्रेष्ठ, सुदेश शर्मा, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई, शिशिर योगी, एड्रिन प्रधान, नारायण ओली आदिसँग उनले काम गरे ।

गायिकाहरुमा तारादेवी, सुशीला कंसाकार, दिलमाया खाती, अन्जु (आसाम निवासी) अरुणा लामा, शान्ति ठटाल, मीरा राणा, ज्ञानु राणा, तारा थापा, सुक्मित गुरुङ, हसना श्रेष्ठ विमला सेन्चुरी, कुन्ती मोक्तान, संगीता राना, लोचन भट्टराई, विमला राई, सुनिता सुब्बारमनिला सोताङदेखि झुमा लिम्बू र मिलन अमात्य आदिसँग उनले काम गरे ।

त्यस्तै, भारतीय कलाकार उदितनारायण झा, सोनु निगम, कविता कृष्णामूर्ति, साधना सर्गम, पूर्णिमा आदिसँग उनले काम गरे ।

संगीतकारहरु नातिकाजी, शिवशंकर, प्रेम माणिक, नारायण गोपाल, अम्बर गुरुङ, हुतराज शर्मा, नोर्बु छिरिङ, सि.के. रसाइली, शान्ति ठटाल, तारादेवी, चन्द्रराज शर्मा, शुभबहादुर, गणेश परियार, कृष्णमान, दीपक जङ्गम, शम्भुजीत, शक्तिबल्लभ श्रेष्ठ, मदन दिप्बिम, मदन परियार, दीप तुलाधर, नारायण ओली, किशोर गुरुङ, शरद गुरुङ किशोर गुरुङ, शरद गुरुङ आदिसँग उनले काम गरेका थिए ।

चलचित्रतर्फ जुनी, भाग्यरेखा, २५ वसन्त, अन्याय, चोखो माया, सिमाना, अवतार, जमिन, रणभूमि, राजकुमार, संजोग, ग्रहण, घरसंसार, हतियार आदि चलचित्रमा उनले गीत लेखेका थिए ।

त्यस्तै, ‘दोभान’ गीति एल्बममा अम्बर गुरुङको एकल संगीत र थापाकाे रचना रहेकाे थियाे । त्यस्तै, आँखाको भाका आँखैले, घुम्तीमा , दाेभान,आऊ सुटुक्क  आदि उनका रचनामा निस्किएका गिति एल्बमहरु हुन् ।

ओभानो सिउँदो (२०२०) र रुझेका परेला (२०२५) मा पनि उनले लेखेका गीत रहेका छन् । चक्लाभरीको घाम (२०३६), ताराका काँचा रङ (२०६०) मा पनि उनले संगीत दिएका थिए ।

नारायण गोपालले थापाका १० गीतहरुलाई आफ्नै संगीतमा निरन्तर गाएका थिए । अम्बर गुरुङले एकल र संयुक्त गरी उनका ७ ओटा गीत गाएका छन् । प्रेमध्वजले २० ओटा गीत उनको संगीतमा गाएका छन् । माणिकरत्नले १५ ओटा जति गीत उनकै संगीतमा गाएका थिए । योगेश वैद्यले युगल २ र तारादेवीसँग गरी ७ ओटा गीत गाएका छन् । त्यसमध्ये आँखैमा …. उनको गीत स्नातकोत्तर तहको पाठ्यक्रममा राखिएको छ ।

मैले २०३५ देखि रत्न शमसेरका गीतहरु रेडियोबाट सुन्ने गरेको हुँ । शुरुमा यो शमसेर भन्ने नाम पनि गीत संगीतमा कसरी भन्ने लाग्थ्यो । दार्जिलिङमा पढेर काठमाडौ आएपछि करिब २०४५ देखि यसै क्षेत्रमा गाँसिएँ । विभिन्न कार्यक्रम तथा रेडियो नेपालमा म उनलाई देख्थेँ ।

२०५० सालपछि एक दिन म त्यो निवासमा पुगेँ । रमाइलो वातावरण बन्यो । २०५५ सालमा मैले उनको एउटा गीत सुनगाभा एल्बममा राखेँ । त्यो पंक्तिकारको एकल संगीत र रबिन शर्माको स्वरमा थियो । ( गीतको बोल ‘चाहे पाप भन या अपराध मैले त मीठो भूल गरें…’ भन्ने थियो ।

त्यसपछि रेडियो नेपालमै फत्तेमान र रबिन शर्माको साथमा तथा फत्तेमानको एकल गरी दुई गीत गर्यौँ । एड्रिन प्रधान, शिशिर योगी, डा. गोपालहरुसँग पनि काम गर्याैँ । यसको अलवा २०६८ मा गीतकार थापा र पंक्तिकारको एकल एल्बम आऊ सुटुक्क म्युजिक नेपालले बजारमा ल्यायो । यसरी थापासँग १ दर्जन भन्दा बढी गीतमा सँगै रहेर काम गर्ने अवसर मिल्यो ।

उहाँसँग सधैँ एक अग्रज र अनुजको आत्मिक सम्बन्ध कायम रह्यो ।
(ओली रेडियो नेपालमा संगीतकार रहेका छन् ।)

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending