Banner
यो तीजमा आमालाई छोरीको पत्र

आदरणीय ममतामयी आमा,
तपाईँकी छोरीको तर्फबाट धेरै धेरै सम्झना तथा नमस्कार छ ।
यहाँ हामी आजका मितिसम्म तपाईँहरूका आशीर्वादले स–परिवार सञ्चै छौँ । त्यहाँ हजुरहरू पनि सबै जना सन्चै हुनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु । सधैँ झै यसपटक पनि बाली लगाइसकिएको छ र अब चाडपर्वको समय सुरु हुनै लागेको छ । अरु चेलीका जस्तै मेरा आँखा पनि अब माइतीतिर नै टोलाउन थालिसकेका छन् । तर देश काल र परिस्थिति राम्रो नभएको बेला यसपालीको तीज कस्तो होला भन्ने अनुमान गर्दैछु । पोहोरको सम्झना ताजै छ । बा आमासँग सँगै बसेर यसपटकको तीज मनाउन आउन सकिन्न कि जस्तो छ । निर्णय गर्न सकिनँ । त्यसैले हजुरको सुझाव अमूल्य हुने ठानी यो चिठी पठाउँदै छु ।
आमा ! तपाईँलाई थाहै छ, अहिले संसार कोरोना सङक्रमणको चपेटामा छ र नेपाल आमा पनि यसैको पीडामा छटपटाइरहेकी छिन् । यो ठाउँ त्यो ठाउँको कुरै रहेन । सारा संसार पीडामा छटपटिइरहेको छ । सुन्दैछु माइती गाउँमा पनि कोराना संक्रमितको संख्या बढिरहेको छ अरे । म आउने घरका आँगनमा पनि अहिले म पनि आउँदिनँ तपाईँ पनि नआउनु भनेर घेराबारा लगाएर बसेका छन् अरे भन्ने पनि पल्ला घरे माल्दाइको फेसबुकको खबरबाट थाहा पाएकी छु । अनि तपाईँ भने पिँढीमा बसेर छोरीहरू आउँछन् भनेर टहलिँदै हुनुहुन्छ होला । म आएँ भने पनि तपाईँसँग भेट नगरी फर्किनु पर्ने पो हो कि ? भन्ने डरमा छु ।
देशका अरु धेरै ठाउँमा पनि बन्दाबन्दीको अवस्था छ । समाचारमा पनि सङ्क्रमितको सङ्ख्या र मृतकको सङ्ख्या बढिरहेको सुनिरहेकी छु । म, मेरा छोराछोरी र तपाईकै ज्वाईँ बसेका ठाउँमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । एकै छिनमा के हो कसो हो भन्न सकिने अवस्था छैन । कसलाई सङ्क्रमण छ त्यो पनि थाहा छैन । यो महामारी अहिले भुसमा आगो सल्किएजस्तो सल्कँदै छ । त्रास बढिरहेको छ । सरकारले घरबाट बाहिर ननिस्कन भनेर सूचना गरेको गरेकै छ । नजिकैका सरकारले त झन बेरा नै लगाएका छन् । मैले मेरा सरकारहरुको आदेश नमानेर घेरा मिचेर घर छोड्न सक्छु कि सक्दिनँ मलाई नै थाहा छैन ।
‘यो महामारीबाट जोगिन घरमा नै बस्नू है’ भनेर तपाईँले भनेको पनि मैले सम्झिइरहेकी छु । त्यसलाई नै सावधानको अचुक औषधी मानेकी छु । त्यसैले म यसपालि धेरै दोधारमा छु । कतै म र मजस्ता चेलीबेटीका माइत जाने असावधानी रहरले अरु मानिसको जीवन जोखिममा पर्ने पो हो कि ? त्यसैले यसपालिको तीज म यहीँ बसेर मनाउने निर्णय गरौँ कि भन्दैछु । यो दोधारले केही पनि निर्णय गर्न सकेकी छैन । जाँतेकी माहिली र कर्जुनाकी कान्छी बहिनीले पनि निर्णय गर्न सकेका छैनन् । उनीहरुलाई मैले आमाबाको चित्त नदुखाउने उपाय गरौँला भनेकी छु । थोरबहुत दिदी बहिनीका कुराकानीमा यसपाली तीज आ–आफ्नै घरमा मनाउने सल्लाह भइरहेको छ ।
मेरी छोरीले पनि यसपालि मावल नजान सल्लाह दिँदैछन् । आमा ! मैले यता हाम्रा चेलीबेटीलाई निम्ता गरे पनि यसपाली माइत आउन नसकिने जानकारी दिँदै दुःख नमान्नु भन्नुभएको छ र मैले पनि उहाँहरूलाई आउन कर गर्न सकिनँ । अनि तीजको रमाइलो र मिठोमसिनो पनि स्थगित छ । कोरोना गएपछि भेला भएर रमाइलो गर्ने सल्लाह मिलाएका छौँ ।
आमा ! अनि मेरा दाजुलाई पनि हतारमा बैनी लिन नपठाउनुहोला । अहिले त फोन पनि छ । तै आउँछे कि भनेर धेरै पटक फोन गर्न नभन्नुहोला किनकि तपाईका टेलिफोनका तारन्तारका खबरले र मलाई माइत आउने तीव्र इच्छाले मेरा पाइला नरोकिन सक्छन् किनकि मलाई पनि त कतिबेला आमाबुबालाई भेटौँ भन्ने कति हो कति मन छ । तर जोखिममा परिने र पारिने हो कि के हुन्छ थाहा छैन । मलाई थाहा छ तपाईँको मन सजिलै मान्दैन अनि मेरो मन पनि । हाम्रो अनुपस्थितिमा तपाईलाई तीज धेरै नै खल्लो हुन्छ भन्ने मैले बुझेकी छु । साँच्चै नै सन्तान भनेको मुटुको टुक्रा हो भन्ने कुराको महसुस अब त मलाई पनि भइसकेकै छ ।
मेरी प्यारी आमा ! तपाईले रातो सारी लागाएर बाहिरभित्र गरेको, हातभरी लगाएका चुराको आवाज, के खान्छौ भनी पटकपटक सोध्नुभएको, भाउजूले बनाएको दहीकाँक्रो कत्ति मिठो थियो । साँच्चै त्यस्तो मिठो त मैले बनाउँदा कहिल्यै भएन । व्रत बसेको, मन्दिरमा गएर नाचेको, नाच हेरेको मेरो मनमा झलझली याद आइरहेको छ । बुबाले हामी सबै भेला भएर नाच्दा मानेको रमाइलो, बजाउनुभएको ताली पनि झलझली नै यादमा छ ।
बुबाले हामीलाई थाहा नदिइकन राति नै उठेर पकाएको ढकने निद्रामा नै भए पनि सबै उठेर खाँदा कत्ति रमाइलो र मिठो भएको थियो कति । यी सबै कुरा सम्झँदा अहिले पनि मलाई हजुरहरू सँगै भएजस्तो लाग्छ । पोहोरको रमाइलो व्यक्त गर्ने कुनै शब्द नै छैन । मैलै यी सबै रमाइला क्षणहरूलाई जस्ताको तस्तै मनमा सम्हालेर राखेकी छु । पोहोर सालको त्यो क्षण सम्झँदा घरीघरी त मेरा आँखा आफैँ रसाउँछन् । तपाईँसँगै बसेर धेरै दुःखसुखका गफ गर्न मन छ , तपाईँका धेरैधेरै अर्तीका कुरा सुन्न बाँकी नै छ । माइत आउने मन त कति छ कति तर के गर्नु आफ्नो मनलाई आफैँले सम्झाउँदै छु तर पनि यो मन मानेकै छैन ।
गाउँघरमा यसपालि अघिल्लो सालको जस्तो चोकचोकमा गएर धुमधामसँग नाचगान पनि नगरौँ भन्ने सल्लाह गरेका छौँ । यो साल तीज मनाउने तरिका बदलौँ भन्दै छौँ । मैले देखिरहेकी छु कति बहिनी, दाजु र भाइहरु अनलाइनमार्फत पनि रमाइलो गरिरहेका छन् भने कति चेलीबेटीका दाजुभाइको महामारी, बाढी र पहिरोले जीवन गुमेको छ । कतिको रोजगारी गुमेको छ, कति आमाहरू सन्तानको पीडामा हुनुहुन्छ, छरछिमेक र आफन्तहरू कति क्वारेन्टिनमा र आइसोलेसनमा हुनुहुन्छ ।
महामारीकै सन्त्रासमा कति विदेशमा त कति स्वदेशमा नै छटपटाइरहनु भएको छ । यस्तो अवस्थामा हामीले कसरी यो चाडलाई धुमधामका साथ मनाउन सक्छौँ ? तपाई आफँै भन्नु त ? तपाई त संसारकै ज्ञानी र महान आमा, हामी सबैकी आमा । यो अवस्थामा तपाई हामीलाई के सल्लाह दिनुहुन्छ ? धेरै चेलीहरूको अवस्था यस्तै छ । यसपटकको तीज हजुरहरूले जिम्मा लगाएकै घरमा मनाएँ भने के भन्नुहुन्छ ? तपाईको उचित सल्लाहको प्रतीक्षामा रहने छु । हामी सबैकी संसारकै महान् र प्यारी आमा यो पत्र पाएपछि सकेसम्म मलाई लिन माइती नपठाउँदा म दुःखी हुने छैन । म तपाईँकै काखमा हुनेछु र तपाईँकी यो छोरीको मायामा कुनै कमी हुने छैन ।
अन्त्यमा, यो पत्र पाउनासाथ बुबा, दाजु–भाउजू, भाइबहिनीहरूलाई सुनाइदिनु होला । अनि मलाई सम्झने छरछिमेकका दिदी बहिनीलाई पनिा मेरो सम्झना र सन्देश अनि मिठो माया पनि सुनाइदिनु होला भन्दै अहिलेलाई बिदा चाहन्छु ।
उही तपाईंकी प्यारी छोरी
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login