Banner
बस्तीबस्तीबाट उठौं, नेता होइन देश बनाउन जुटौँ

अहिलेको विश्व परिवेशमा नेपालको ऐतिहासिक र प्राकृतिक महत्वको पक्षबाट हेर्ने हो भने नेपाल सर्वश्रेष्ठ देश हुनुपर्ने हो तर नेपालको अवस्था नाजुक र गरिबीले आहत बनेको छ । देशमा राजनीतिक थिति छैन, समाजमा नैतिकता छैन, शिक्षामा गुणस्तर छैन, नेतामा क्षमता छैन, सडक, बत्ती, पानी, बिजुली, सञ्चार, रोजगार, कृषि, खाद्य, स्वास्थ्य जुन क्षेत्र हेरे पनि कहालीलाग्दो अवस्था के कारणले छ होला ?
हिजो राजनीति गर्नेहरूले आफ्नो राजनीति सुरक्षित गर्नको लागि नयाँ आउने पुस्तालाई निषेध गर्न राजनीति भनेको बिग्रिने बाटो हो भनियो, राजनीति गंर्नेलाई परिवारमा र समाजमा अपहेलना गर्ने गरियो । फलस्वरूप राजनीतिमा अब्बल र क्षमतावान व्यक्तिहरू आउन चाहेनन् । समाजमा अरु सबै बाटो बन्द भएर बेकाम बसेका अनुत्पादक जनशक्ति नै राजनीतिकर्मी बनेर देशको नेतृत्व गरिरहेका छन् । एउटा देश सफल हुन राजनीति पनि संवेदनशील प्राविधिक विषय हो जस्तो कि एउटा जहाजले उडान भर्नको लागि प्राविधिक रुपमा सक्षम पाइलटको नेतृत्व आवश्यक हुन्छ त्यसरी नै देश कुशलतपूर्वक चल्नको लागि प्राविधिक रुपमा सक्षम नेतृत्व आवश्यक पर्छ । जेल बसेको राजनैतिक अनुभव पेश गरेर सत्तामा पुग्ने मानिसको मानसिकता जहिले पनि बदलाको मनोदशाबाट गुज्रिएको हुन्छ जसले राजनीतिमा निकास निस्किँदैन ।
अहिलेका युवामा राजनीतिको बुझाइ र जवाफदेहिता नभएर नै राजनीतिले सही दिशा लिन नसकेको हो । अहिलेका सत्ता सञ्चालकहरू युवालाई कुनै पनि बहानामा विदेश जान प्रेरित गरेर सत्ता सधैँ आफ्नो हातमा लिन चाहन्छन् र युवाले पनि आफ्नो हैसियतले भ्याउने देश खोजेर गइदिने र रेमिट्यान्स पठाएर नेताको स्वार्थ पूरा गरिरहेका छन् । अहिले पनि अब्बल किसिमका सक्षम विद्यार्थीहरू राजनीतिलाई तुच्छ र अप्राविधिक विषयको रुपमा लिन्छन् । डाक्टर इन्जिनियर पाइलटजस्तै तुरुन्त जागिर मिल्न सहयोगी हुने विषय अध्ययनमा रुचि देखाउँछन् । तर राजनीतिको हालत खराब छ यसलाई सुधार्नुपर्छ भनेर राजनीतिशास्त्र अध्ययन गर्ने युवा प्राय शून्य छन् । कोही राजनीतिशास्त्र अध्ययन गर्छन् भने पनि अन्य सबै विकल्प सकिएका र आफ्नो पढेको डिग्री देखाउन मात्र राजनीतिशास्त्रका विद्यार्थी बनेका छन् । राजनीति शास्त्रमा अध्ययन, खोज र अनुसन्धान गर्ने विश्वविद्यालय र क्याम्पसहरू पनि अत्यन्तै खराब हालतमा गुज्रिएका छन् । प्राध्यापकहरू पनि निर्वाहमुखी अध्यापन गराइरहेका छन् ।
अबको देश निर्माणको काम पनि युवाको जिम्मेवारी भएकाले युवाहरूले अब सोच्ने बेला भएको छ । हाम्रो देशले समृद्धिको खोजीमा धेरै पटक शासन पद्धति फेरिसकेको छ । अहिले पनि केही शक्तिहरू शासन प्रणालीलाई दोषी ठान्दै भूमिगत युद्ध गरिरहेका छन् । हामीले नेतृत्वको संरचना बलियो बनाउन सकेनौं भने जस्तोसुकै वा जुनसुकै शासकीय प्रणाली आए पनि कुनै फरक पर्नेछैन । हामीले शासकीय पद्धतिको नाम फेरेर केही हुँदैन जबसम्म आधारभूत रुपमै शासन गर्ने प्रणाली र देशको प्रशासकीय व्यवस्थामा सुधार हुँदैन शासकीय प्रणालीको नाम फेरेर केही हुँदैन ।
हिजो पञ्चायत व्यवस्था हुँदा शासन गर्ने व्यक्ति र अहिले गणतन्त्र आएपछि शासन गर्ने व्यक्ति एकै छ भने हामी कसरी कार्यसम्पादन राम्रो खोज्न सक्छौं ? राजतन्त्र होस् कि प्रजातन्त्र होस्, लोकतन्त्र होस् कि गणतन्त्र होस् शासन गर्ने व्यक्ति जहिले पनि उही छन् भने हामीले शासकीय पद्धतिको नाम फेरेर केही हुन्छ ? आफूलाई राजनीतिज्ञ भन्ने एउटा मान्छेले एक पटक होइन दुई पटक होइन ६ पटकसम्म सरकारको नेतृत्व गर्छ र हरेक पटक उसलाई असक्षम भएको भनेर हटाइएको हुन्छ भने फेरि उही व्यक्ति कसरी सक्षम हुन्छ ? केही महिनामै कसरी सक्षम हुन्छ ? एक पटक असक्षम भएर वा राजनीतिक परिणाम दिन नसकेर हटाइएको मानिस फेरि ल्याउनु भनेको देश धेरै पछि धकेलिनु हो ।
कसैको नेतृत्वमा सकारात्मक पहलहरू वा देश निर्माणमा कुनै ठोस योजना बनेको भए वा उसको नेतृत्वमा देशले मुहार फेर्ने कुनै काम भएको भए उसलाई फेरि सरकारको नेतृत्व दिनु स्वाभाविक हो तर जसको कार्यकालमा देश नउठ्ने गरी डुबाइएको हुन्छ उसलाई बारम्बार नेतृत्वमा किन ल्याइन्छ ? के युवा असक्षम भएर हो ? एउटा सक्षम मानिसको नेतृत्वमा देशले मुहार फेर्न धेरै समय लाग्दैन भने एउटा असक्षम मानिसले भविष्यका पुस्तालाई समेत पछाडि धकेलिने गरी देशलाई अँध्यारोमा पुर्याउँछ । अहिले देशको अवस्था हेर्ने हो भने यो शताब्दीकै पिछडिएको मुलुकको रुपमा नेपाल उभिएको छ ।
देशको अर्थतन्त्र त्यतिकै डामाडोल छ, अर्थिक बजेट भन्दा माथि वैदेशिक ऋणको भारी छ, वैदेशिक ऋण पनि कुनै उत्पादनमूलक उद्योग, स्थायी संरचना निर्माण, विकास आदिमा भएको भए पनि ठीकै हुन्थ्यो । त्यो ऋण पनि देशको प्रशासनिक खर्च जुटाउन गरिएको छ । न कुनै उत्पादनको नीति छ, न कुनै औद्योगिकरण नीति, न राज्यको भरपर्दो आयको बाटो तय गरिएको छ, न राज्यको अर्थतन्त्रको दिशा नै तय छ, न राज्यको कुनै आर्थिक क्यालेन्डर नै छ । देशको कूटनीतिक सम्बन्ध झनै भद्रगोल छ । छिमेकीसँगको व्यापार सम्बन्ध होस् या सीमा सुरक्षाको विषय राज्यको नीति के हो भन्ने मित्रराष्ट्रलाई त परको कुरो हाम्रै कुटनीतिक नियोग हरूलाई पनि थाहा छैन । न कूटनीतिक प्रोटोकल छ न कुनै योजना छ । शैक्षिक र स्वास्थ्य क्षेत्रमा माफियाहरूले कब्जा जमाई कालोबजारी गरिरहेका छन् त्यो पनि राज्यको नेतृत्व गर्नेहरूकै लगानीमा ।
भ्रष्ट्राचारको जालो उतिकै कहाली लाग्दो छ । शिक्षामा भ्रष्टाचार, स्वास्थ्यमा भ्रष्टाचार, सरकारी युनिफर्ममा भ्रष्टाचार, पुलिस सैनिकको रासनमा भ्रष्टाचार, महामारीमा किनिएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, नियुक्तिमा भ्रष्टाचार, न्यायमा भ्रष्टाचार, मालपोत, अदालत, पुलिस, यातायात सम्म भ्रष्टाचार । प्रशासनदेखि मसानघाटसम्म र पात्रोदेखि कात्रोसम्म, मन्दिरदेखि चर्पीसम्म भ्रष्टाचार नभएको शायद कुनै क्षेत्र छैन, । त्यसमा पनि राज्यको नेतृत्व गर्नेहरूकै सम्धी, साला, साली रखवाली, श्रीमती, भतिजा, भान्जी, बुहारीहरूले नै भ्रष्टाचार गर्ने गरेका छन् ।
सबै संस्थान नातेदारको अखडा, नीतिनियम र कानुनको क्याबिनेटदेखि सडकमा समेत धज्जी उडाउने तिनै सम्धीहरू, ठूलाठूला भ्रष्टाचारका काण्डदेखि भट्टी पसलमा परेका लफडा समेत मिलाउने मन्त्रीहरू हुन्छन् । विश्वविद्यालयहरूको हालत उस्तै छ, स्वास्थ्य संस्थाहरूमा निर्देशक कमिसनको मात्रामा भर पर्ने स्थिति छ । अधिकांश युवाहरू देशबाहिर छन् कोही रहरले त कोही करले । राज्यमा शासकहरूले श्रम सम्झौताको नाममा युवा बिक्री वा करारनामा गराउँदै विदेश निर्यात गरिरहे । गलत कामको विरोध वा विद्रोह गर्न सक्ने युवालाई विदेश निर्यात गरेपछि यहाँ सत्ताधारीहरूले जे गर्दा पनि हुने स्थिति छ ।
न्याय क्षेत्र इतिहासमै सबभन्दा नाजुक अवस्थामा पुगेको छ, न्यायको सामान्य सिद्धान्तले सम्पादन हुने न्याय पनि मोलतोलका साथ बिक्री हुनु, पहुँचवालाहरू कानुनभन्दा धेरै माथि हुनु र निर्दोषलाई फसाउने फाँसीवादी मनोवृत्ति शासकमा बढ्दै गएको अवस्थामा अब पनि हामी युवाले देश नसम्हाले हामीले मात्र होइन हाम्रा पुस्तौंपछिका सन्तति पनि यसरी नै लाचार भएर बाँच्नेछन् । कुनै विदेशी अध्यागमनमा पुगियो भने नेपाली पासपोर्ट देख्दैमा हेप्न शुरु हुन्छ नेपालीलाई, चाहे नेपालमा जस्तोसुकै हैसियतको नागरिक होस् । विदेशिएका अधिकांश नेपालीले तेस्रो दर्जाको काम गर्नुपर्ने अवस्था छ । आर्थिक अनुदानको नाममा नेपाललाई दुनियाँको दास बनाइएको छ ।
स्वाभिमान र सार्वभौमिकताको धज्जी उडाइएको छ । छिमेकी देशको सामान्य प्रशासकीय अधिकृत आएर प्रधानमन्त्री र राष्ट्रपतिलाई कुनै प्रोटोकलबिना नै भेटेर उल्टो धम्क्याएर जान्छ । अझ त्यस्ता सामान्य कर्मचारीलाई भेट्न आफैं उच्च ओहोदामा आसीनहरू जाने गरेका छन् । देशमा एउटा मधेसीले आफ्नो देशको अपनत्व महसुस गर्न सकेको छैन, दलितहरू कुटिएका छन्, निर्धाहरू लुटिएका छन् । जनजातिले पहिचानको लागि भन्दै लड्नुपरेको छ । खस आर्यहरूमाथि अपमान भइरहेको छ । जातिजातिमा विभेद गरिएको छ, नागरिकलाई राज्यको स्रोत साधनबाट वञ्चित गरी भारतीय व्यापारीहरूलाई श्रोत र साधनको मालिक बनाइएको छ । कालोबजारी र तस्करहरूको चंगुलमा फसेको छ देश । अब पनि युवा चुप लागेर बस्ने हो भने कति पुस्तासम्म विश्वका अपमानित नागरिक भएर बस्ने ?
विभिन्न पार्टीमा आस्था राखेर राजनीति गर्न चाहने युवाहरू ! अब ढिलो नगर्नुहोस, तपाईले प्रयोग भइसकेका र असफल भइसकेका व्यक्तिलाई नेता मानेर देशलाई नरकको बाटोमा नलैजानुहोस्, तपाई युवाहरू अगाडि बढ्नोस् । भिजनसहितको राजनीतिक थिति बसाउन अर्जुनले पितामह भीष्ममाथि वाण वर्षाएका थिए भने हामी हाम्रा मिति गुज्रेका पुराना नेतालाई अवकास दिऔँ र हाम्रो भविष्य हामी आफैँ कोरौं ।
हजुरबाहरू शुभचिन्तक हुन सक्छन्, अभिभावक हुन सक्छन् तर तपार्इँ हाम्रो काम गर्न सक्दैनन् । हाम्रा बाले हाम्रो भलो चाहेर पनि हामीले चाहेजस्तो काम गर्न सक्नुहुन्न भने केपी ओली जो दलाल र भ्रष्ट्राचारीको घेरामा बाँधिएर बसेका छन् उनले तपाई हाम्रो काम गर्छन् भनेर कसरी सोच्ने ? शेरबहादुर देउवा जो सरकारी ऐस आराम र कुर्सीसँग इमान, जमान र राजनीतिक पथ पनि विसर्जन गर्छन उनलाई कति पटक चटके प्रधानमन्त्री बनाउने ? पाँच पटक प्रधानमन्त्री बनेर अहिलेसम्म गर्न नसकेको कुन चाहिं काम गर्लान् भनेर उनलाई अपनाउने ? कथित जनयुद्धको नाममा सत्रौं हजार मानिसको रगतले स्थापित भएका प्रचण्डले उत्पीडित जनतालाई बाँडेका सपना खोई ? बुहारी मन्त्री, छोरी मेयरलगायत सम्पूर्ण आफन्तको सेट नै सरकारी विलासी सुविधा लिने पदमा पुर्याउन हो तपाईले गोली छातीमा थाप्नु भएको ? युवा साथीहरू तपाई आउनुहोस् नेतृत्व गर्न । मेरो नेता यो होइन, अब तपाईको नेता तपाई नै हो किनकि तपाईलाई बुझ्ने ओली, देउवा प्रचण्ड या कुनै सण्डमुण्ड होइन तपाईँ नै हो ।
राष्ट्रप्रति इमानदार युवा नेतृत्व भयो भने सम्भव हुन्छ भन्न कुनै माक्र्सवाद, लेनिनवाद, माओवाद वा पूँजीवाद पढ्नु वा रट्नुपर्छ, नारा लगाउनुपर्छ बन्दुक पड्काउनुपर्छ भन्ने होइन । सोच र प्रणाली विकास गर्नुपर्छ भन्ने कुरा हाम्रै देशका महान युवा व्यवस्थापक कुलमान घिसिङबाट बुझ्न सकिन्छ, जान्न सकिन्छ । लथालिङ्ग र भताभुङ्ग भएको, ३६ अरब सञ्चित घाटा र वार्षिक ९ अरब घाटामा भएको नेपाल विद्युत प्राधिकरण जसले देशमा १८ घण्टा लोडसेडिङ गथ्र्याे त्यसको व्यावस्थापन जिम्मा लिएर कुलमान घिसिङले आफ्नो नेतृत्व क्षमताको परिचय दिए । ४ वर्षे कार्यकालको व्यवस्थापन जिम्मा लिएको वर्ष दिनभित्र देशलाई लोडसेडिङमुक्त बनाई संस्थाको ऋण चुक्ता गरेर ६ अरब सञ्चित नाफासहित ११ अरब वार्षिक मुनाफा आर्जन गर्ने संस्था बनाउन उनी सफल भए । सक्षम युवा नेतृत्व पायो भने देशले पनि ५ वर्षमा वैदेशिक ऋण चुक्ता गरी, व्यापार घाटा अन्त्य गरी मुनाफा आर्जन गर्न किन सक्दैन र ?
यो राष्ट्र बचाउन, आफ्नो भविष्य कोर्न र आफ्ना बाल बच्चालाई तपाई हामीलाई जस्तो अन्योलबाट मुक्त राख्न आज तपाईको नेतृत्व आवश्यक छ, भोलि हाम्रो बच्चाहरूको पालो हुनुपर्छ । हाम्रो हजुरबाको पालामा पनि ओली, देउवा र प्रचण्ड, बुवाको पालामा पनि तिनीहरू नै, अहिले हाम्रो पालामा पनि तिनीहरू नै अनि भोलि हाम्रा बच्चाहरूको पालामा पनि तिनीहरू नै नेता भएर कस्तो परिवर्तन हुन्छ ? कसरी आउँछ समृद्धि ?
हिजो जे भयो अब त्यो गल्ती हुन दिनु हुँदैन । आज तपाई हाम्रो पालो हो भोलि हाम्रा बालबच्चाको पालो हो । तपाई हामीले पनि बालबच्चाको पालो आइसकेपछि हाम्रो दाबी छोडेर उनीहरूलाई नेतृत्व सुम्पिनु पर्दछ । यो थिति बस्नुपर्छ, यो संस्कार बन्नुपर्छ अनि मात्र समय सापेक्ष समृद्धि आउँछ नत्र नेपाल सदाको लागि पिछडिएको देशको सूचीबाट कहिल्यै हट्ने छैन ।
अहिलेको आवश्यकता भनेको कसले शासन सत्ता चलाउने भन्ने होइन, कसरी शासन सत्ता चलाउने भन्ने हो । हामीले हाम्रै पालामा शासन प्रणालीको विकास गर्नुपर्छ जसमा माक्र्सवाद, लेनिनबाद, माओवाद वा पूँजीवाद होइन ‘नेपालवाद’ को विकास हुनुपर्छ । जहाँ हरेक नेपालीले आफूलाई यो देशको अधिकारसम्पन्न सम्मानित नागरिक महसुस गर्न सकोस् साथै शासन व्यक्तिले होइन उन्नत व्यवस्थाले गर्दैछ भन्ने महसुस होस् र राज्यका अङ्गहरू सम्धी, ज्वाइँ, सालासाली र आफन्तहरुको साङ्गठनिक अपराध गर्ने अखडा होइन भन्ने विश्वासको विकास होस् ।
व्यक्तिको लहडमा शासन गर्ने प्रवृत्तिको अन्त्य गरी आम युवाले तय गरेको प्रणालीमा सत्ता सञ्चालन हुने व्यवस्था हुनुपर्याे । जहाँ शासन सत्तामा कुनै सुधार चाहिए व्यक्ति होइन प्रणाली अद्यावधिक गर्ने व्यवस्था हुनु पर्दछ । जसमा आउने पुस्ताले सजिलै आफ्नो आवश्यकता अद्यावधिक गर्न सकून् त्यसको लागि कुनै युद्ध, द्वन्द्व वा अस्थिरता नहोस् । युवा साथीहरू यसरी हामी अरुबाट होइन आफैँबाट शासित हुनुपर्छ ।
आजको समयमा एउटा शिक्षित बाबुले त छोराछोरीको आकांक्षा बुझ्न सक्दैनन् भने हजुरबा उमेरका व्यक्तिले हामीले चाहेको परिवर्तन स्थापित गर्छन् भनेर कल्पना गर्नु नै गलत हुन्छ । तर हामी कल्पना मात्र होइन अपेक्षा नै गरिरहेका छौं । युवाहरूमा नैराश्यता, डिप्रेसनजस्ता समस्या उत्पन्न भई आत्महत्या गर्ने र अन्य अपराध गर्ने क्रमलाई यसले रोक्नेछ ।
अतः युवा साथीहरू हामीले समाजमा विकृति विसंगतिसँग लड्दै भ्रष्टाचारीहरूलाई सामाजिक बहिष्कार गर्ने, आर्थिक क्रान्तिको लागि प्रविधिको विकास र प्रशिक्षण दिने सभ्य समाजको मोडल तयार पार्नुपर्छ । क्लष्टर बनाई आधुनिक समाज निर्माण गर्ने, व्यक्तित्व विकास गर्दै देश निर्माणमा युवाहरूलाई प्रोत्साहन र हौसला दिने गर्नुपर्छ । सम्पूर्ण युवाहरू देश निर्माणका नेतृत्व हुन् कुनै अमुक व्यक्तिबाट चामत्कारिक परिवर्तनको अपेक्षा नगरौं । चामत्कारिक शासन व्यवस्था निर्माण गरी हरपल चामत्कारिक परिवर्तनका संवाहक बनौँ ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login