Banner
के हो गणतन्त्र ?

‘धेरै वर्ष अगाडिदेखि राजाले मात्रै एकोहोरो राज गरे हामीमाथि । राजतन्त्र रहुञ्जेल हामी जनता सधैँ भोका, नाङ्गा रहिरहन्छौँ । जबसम्म राजा फ्याँकिदैन तबसम्म हामी जनता सधैँ गरिबीकै रेखामुनि पिल्सिरहने छौँ । अब यो राजतन्त्र नै देश बाट सधैँको लागि हटाएर जनताको अधिकारको तन्त्र गणतन्त्र ल्याउनैपर्छ…’ भन्दै झुटो अफवाह फैलाएका अहिलेका कयौ छोटे राजाहरुको कुरालाई विश्वास गरेर केही वर्ष अगाडि नै राजतन्त्र हटाएर गणतन्त्र ल्यायौँ । तर हामी जनताले अहिलेको गणतान्त्रिक देशबाट खोइ कुन किसिमको गणतन्त्रको महसुस गर्न पाइयो र ?
हिजोका दिनमा नारायणहिटीमा राजा रहँदा पनि हामीलाई उस्तै नै थियो । अनि आजको दिनमा शीतल निवासमा राष्ट्रपति रहनुमा केही फरक छ र ? जुनसुकै पनि बेला बाटोमा त्यही साइरनका साथ अघिपछि चम्किला गाडीहमा प्रहरी, सेनाका साथ तामझाम उस्तै छैन र ?
पहिले बाइसी, चौबिसी राज्य थिए अनि ती अलगअलग राज्यमा अलगअलग राजाहरुले शासन गर्दथे भनेर पढिएको थियो । अनि ती सबै राज्यहरुलाई पृथ्वीनारायण शाह नाम गरेका साहसी राजाले एकीकृत गरी एउटै राज्य बनाएको रे, जुन चाहिँ नेपाल रे । अनि आज त्यही एउटा नेपाललाई फेरि टुक्र्याएर सात राज्य बनाएनन त ? हरेक राज्य अनि हरेक गाउँगाउँमा पिर्के सलामी रे । अनि अहिले पनि चम्किला गाडीमा सवार भई अघि र पछि प्रहरी र सेना कुदिरहेका छैनन् र ?
आफ्नै नेताले मात्रै गणतन्त्र ल्याए झैँ गर्नेहरुलाई चाहिँ पक्कै यसले राम्रो फाइदा गरेको छ । अझै पनि हामीजस्तो साधारण जनताले कहीँ कतै कुनै जागिर गर्नुपर्यो भने फलानो र तिनालुको खुट्टैसम्म नि समाउनुपर्ने हुन्छ । अनि जसको धेरै मुख भयो त्यो छानिन्छ । जसको बोल्दिने कोही हुँदैन ऊ फालिन्छ । यही हो त गणतन्त्र ?
कुनै छोरी चेली एक्लै स्कुल होस् वा कलेज वा आफ्नो व्यक्तिगत कामले एक्लै कतै जानुपर्यो भने त्यो छोरी सकुशल घर फर्किन्छे कि फर्किन्नँ भन्ने त्रास भई नै रहन्छ हरेक आमाबाबुलाई । कुनै चेली बीच बाटोमा बलात्कृत हुन्छे अनि उसको त्यहीँ हत्या पनि हुन्छ । तर सरकार त्यसको तमासा हेरेर बस्छ । अझ माथिबाट उर्दी जारी हुन्छ, ‘अरु देशमा हेरी हाम्रो देशमा बलात्कार र हत्याको घटना एकदम न्यून छ ।’ यही हो त गणतन्त्र ?
कुन कुराको मागमा टायर बालेर विरोध गरिएको हो भन्ने कुरा त्यो बाटोमा टायर बाल्नेलाई नै थाहा हुदैन । तर ऊ लागिपरेर विरोध जनाइरहेको हुन्छ । आफ्नै कामले कोही मान्छे बाटोमा आफ्नो साइकल, मोटरसाइकल लिएर हिँडिरहेको छ भने बिनाकारण उसको सवारी साधन नै जलाइन्छ । यही हो त गणतन्त्र ?
राजतन्त्र रहुञ्जेल हामी कहिल्यै नि माथि उठ्न सकेनौँ भन्ने ए देशका धमिरा हो अनि तिमीहरुले चाहिँ खोइ कसलाई माथि उठायौ त ? के तिम्रा अघिपछि गरेर हिँड्ने दुई चार जनाको सात पुस्तेलाई मात्रै हेरेर हुन्छ र ? अरु कोही जनता नै छैनन् र यो देशमा ?
थोरै ज्वरो आएजस्तो मात्रै भयो भने पनि उपचार गर्नको लागि तिमीहरु आफ्नै देशमा उपचार नगरेर सबैभन्दा राम्रो र महङ्गो देश छानेर जान्छौ, त्यो पनि आफ्नै देशको सम्पति प्रयोग गरेर । अनि जनता बिरामी हुँदा भन्ने गर्छौ सरकारले हेर्न सक्दैन । गरिब जनताको भोट पाएर ठूलो भएको नेता साधारण बिरामी हुँदा पनि देशको कयौ सम्पत्ति लुटिरहेको हुन्छ अनि त्यही भोट दिने गरिब जनता बिरामी हुँदा सामान्य अस्पतालमा पनि उपचार हुन नपाइ यता र उता भाँैतारिएर मर्छ । यही हो त गणतन्त्र ?
गाउँ बनाउँछु, देशै बनाउँछु भन्ने त्यो गाउँको नेता हिजो भोट माग्न आउँदा उसलाई कुन माटो, कुन हिलो थाहा हुँदैन थियो । सबै सरह हिँड्ने गथ्र्याे । जब उसले जितेर गयो अनि कहिलेकाहीँ त्यही गाउँमा आउनुपर्दा अब उसको जुत्ता र लुगामा थोरै नि माटो लाग्छ कि भनेर गाडी बाट ओर्लिएसँगै रातो कार्पेट बिछ्याउनु पर्ने भएको छ । अनि ऊ उभिने ठाउँमा रातै पिर्का हुन्छ । यही हो त गणतन्त्र ?
कृषिप्रधान देश भन्दै सदनमा भाषण छाँट्ने ए छोटे राजाहरु हो कृषकको लागि बिउबिजन अनि मल प्रदान गर्नुपर्छ भन्ने हेक्का छैन है ? कृषकको लागि बिउबिजन अनि मल दिन नसक्ने सरकारले सर्प पाल्नेलाई चाहिँ ७० करोड दिन सक्छ त ? यही हो त गणतन्त्र ?
जनता भोकभोकै सडकमै मर्न लागिसके । कसैले दया गरेर एक छाक खुवाएको छ भने यो कामले अहिलेको सरकारलाई लाज भयो रे । अनि त्यो ७० करोड कुम्ल्याएको टेप रेकर्ड बाहिर आउँदा चाहिँ लाज भन्ने शब्द कता लुकेको थियो नि ? सारा जनतालाई झुक्याएर सम्पत्ति कमाउने खेल मात्रै हो त ? यही हो त गणतन्त्र ?
जनताबाट अस्वीकार भई चुनावमा हारेको मान्छेलाई मन्त्री बनाउन अलग्गै कानुन भएको अनि जनताले रुचाएको मान्छेलाई चाहिँ पुनः नियुक्ति गर्नको लागि कानुन नै नभएको रे । के यही हो त गणतन्त्र ?
म राजावादी होइन । न त म अहिलेको गणतन्त्रको समर्थक नै हो । साँच्चै भन्नुपर्दा मैले त अझैसम्म गणतन्त्र भनेको के हो बुझ्न सकेको नि छैन । गणतन्त्रमा त सबै जनतालाई बराबर रुपमा हेरिन्न र ? तर खोइ त त्यो ?
आखिर के हो त गणतन्त्र ?
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login