Banner
सुन्दरहरैंचामा ज्वेलर्स लुट्न खोज्ने गिरोह प्रहरीद्वारा सार्वजनिक

विराटचोकः साउन १ गते दिउँसो सवा १ बजे सुन्दरहरंैचा– १० त्रिवेणी चोकमा रहेको पञ्चायन ज्वेलर्स लुट्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
खगेन्द्र थापाले सञ्चालन गरेको सो ज्वेलर्समा हतियार देखाई लुटपाट गर्ने असफल प्रयास गरी फरार रहेकाहरुलाई आज बिहान ३ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सो सुन पसल लुट्ने असफल योजना नेपाली सेनाका पूर्व सैनिक र पूर्व माओवादीले बनाएको खुलेको छ ।
घटनाको अघिल्लो दिन असार ३१ गते नै उनीहरुले सुन पसल लुट्ने योजना बनाएको समेत खुलेको छ । त्यस दिन उनीहरुले त्यस क्षेत्रमा अनुकूल स्थिति नदेखेपछि फर्केको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फौजी तालिम लिएकाहरुले बनाएको योजनाअनुसार सुन पसलमा शुरुमा पूर्व सैनिक चन्द्रबहादुर राई र पूर्व माओवादी छापामार डाईमण्ड भन्ने प्रमोद चौधरी प्रवेश गरेका थिए । एसएमजीसहित प्रवेश गरेका उनीहरु पसलभित्र छिरेपछि बाहिर बसेर चार जनाले ‘रेकी’ गरेका थिए । दुई जना पसलमा प्रवेश गरेपछि सहयोगका लागि आएका अर्का एक जना भने पसलको प्रवेशद्वारसम्म आएपछि अटोमेटिक पेस्तोल झिक्दै बाहिरिएका थिए । उनलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
प्रहरीले घटनामा संलग्न भएकामध्ये पूर्व सैनिक संखुवासभाको सभापोखरी–४ घर भई हाल इटहरी–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का डायमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभाको बाह्रबिसे गाउँपालिका–६ घर भई हाल इटहरी–२० तरहरा बस्ने चिरञ्जिवी राई, सुन्दरहरैंचा–५ का २२ वर्षीय मिशन राई, भोजपुर पौवादुम्मा–३ घर भई इटहरी–२० बस्ने ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा–७ का ३१ वर्षीय सन्तोष राईलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक गरेको हो ।
तीन वटा मोटरसाइकलमा असार ३१ गते आएका उनीहरुले लुटपाट गर्न नसकेपछि बुढी खोलाको बाटो हुँदै इटहरी र तरहरा फर्केका थिए । साथमा रहेको हतियार नमुना सामुदायिक वनमा रहेको एउटा रुखको टोड्कोमा लुकाएको बयान दिएको प्रहरीले जनाएको छ ।
पुनः साउन १ गते दिउँसो १ बजेर १४ मिनेट जाँदा उनीहरु सुन पसलमा आएका थिए । तीमध्ये राई एसएमजी र चौधरी कटुवा पेस्तोलसहित सुन पसलमा प्रवेश गरेको सिसी क्यामेरा फुजेटमा देखिने प्रहरीले जनाएको छ । प्रहरीले सुन्दरहरैंचा–५ नमुना सामुदायिक वनमा रहेको धोद्रो परेको करमको रुखको टोड्कोभित्र लुकाई राखेको अवस्थामा हतियार बरामद गरेको थियो । धोद्रो परेको रुखभित्र टेपले बाँधेर हतियार लुकाएका उनीहरु पसल लुट्ने असफल प्रयासपछि तरहरा फर्केर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको एसएमजी, यसको म्यागजिन, ६२ राउण्ड गोली, कटुवा पेस्तोल, अटोमेटिक पेस्तोल, म्याग्जिन र २ राउण्ड गोली, थ्रि नट थ्री राईफलको चार राउण्ड गोली र लुटेरा समूहले प्रयोग गर्ने एमपीआर लेखेको २ थान सञ्चार सेट समेत बरामद गरेको छ ।
लुटपाटका लागि प्रयोग भएको को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी विभिन्न ब्राण्डका ८ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
उनीहरु विरुद्ध लुटपाट, हातहतियार खरखजना र योजनाबद्ध समूह बनाएर लुटपाटमा संलग्न देखिएकोले संगठित अपराधमा समेत अनुसन्धान गरिने भएको छ । आफ्नै सञ्चार सेट प्रयोग गरेको पाइएका कारण समेत उनीहरुले समूहमा योजना बनाएर लुटपाट गर्ने गरेको आशंका गरिएको छ । उनीहरुविरुद्ध जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: स्वचालीत हतियारसहित आएका लुटेरा समुहलाई पक्रन सफल प्रहरीलाई सम्मान - निष्पक्षखबर