Connect with us
Advertisement

शीर्ष नेता कोभन्दा को कम : आबेसँग उठबस, राजापाक्षेसँग हिमचिम ! (गाईजात्रा विशेष)

Published

on

जापानमा मान र अपमान दुवै पान गरेर फर्किएपछि कमरेड प्रचण्डको आँखा फेसबुकको एउटा पोस्टरमा पुगेर अडियो । त्यहाँ लेखिएको थियो, तिमीहरु जस्तालाई अब भोट नदिने हराउने ! पोस्टरमा चिनेजानेका सबैको तस्बिर छ । ऐना हेरेपछि थाहा भयो, एउटा तस्बिर त आफ्नै पनि । हैन रिस पनि कति गरेका हँ । जापानमा नभएको कुरा बोल्यो भनेर पनि गाली गरेका छन्, चुनावमा भोट दिन्नौँ भनेर पनि घुर्की लगाएका छन् । यो त अति भयो भनेर कमरेडले पोस्टरमा टाउको भएका सबै टाउकेहरुको भेला राखे । त्यसपछि टाउकेहरुबीच सुरु भयो कसको टाउको कत्रो भन्ने लेखाजोखा ।

प्रचण्ड : जापानमा पुगेपछि आबेकै त कुरा गर्नुपर्यो नि, आले र थेबेको कुरा गर्न भएन क्यारे । मने आफू यति ठूलो मान्छे, ठूलो मान्छेले सानातिना मान्छेसँग कुरा भएको थियो भन्न पनि मिलेन, ठूलैसँग कुरा भएको भन्नै पर्यो । अब जापानमा आबेभन्दा ठूलो अरु थिएनन् । मने आबैकै गफ लगाइयो । त्यसमाथि आबे नेपाल आएका थिएनन् भन्ने प्रमाण के छ ? अरुलाई सोधेर आउनुपर्ने हो र ? आएका थिए, मेरै घरमा बसेका हुन् । अलग अलग थालमा खाए पनि खान बसेको एउटै टेबलमा हो । ओहो ! अचार कति पिरो रैछ पनि भनेका थिए । मने आबेसँग मेरो घण्टौँ कुराकानी भएको हो । प्रतिगमन र प्रतिक्रान्तिको खतरा जापानमा पनि हुनसक्छ, बेलैमा होस गर्नुहोस् भनेर मैले सुझाव पनि दिएको थिएँ । तर मेरो सुझावको बेवास्ता गरियो र जापानमा त्यत्रो घटना भयो । नपत्याए आबेलाई नै भेटेर सोध्नुस् न ।

ओली : हैट ! आबे हुन् कि चाबे, सबै पृथ्वीका सन्तान, तर पृथ्वीकै आयु कम भैरहेकोमा अहिले मेरो चिन्तन केन्द्रित छ । मान्छेकै कुरा गर्ने हो भने पनि भर्खरै स्वर्गवास भएका आबेका के कुरा गरेको ? सबैलाई थाहै छ, लेनिन र म सँगै जेल बसेको । जेलमा हामी घण्टौँ ब्याडमिन्टन र क्यारिमबोर्ड खेल्थ्यौँ । कहिले उहाँले जित्नुहुन्थ्यो, कहिले मैले । धेरैपटक त मैले नै हराएको थिएँ उहाँलाई । प्रतिस्पर्धालाई उहाँले बडो हार्दिकतापूर्वक लिनुहुन्थ्यो । कहिल्यै छलकपट गर्नु हुन्नथियो । । लेनिनले त पटकपटक प्रस्तावै गर्नुभाथ्यो, ओलीजी विश्व कम्युनिस्ट आन्दोलन तपाईँकै नेतृत्वमा अघि बढ्नुपर्छ भनेर । तर मैले नै विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व तपाईंले गर्नुस्, नेपालमा म छँदैछु नि भनेर मनाएँ । जेलबाट निस्केपछि उहाँ रुस फर्कनुभयो म चाहिँ रुखको फेदमुनि बसेर चिन्तन गर्न थालेँ ।

म चिन्तनमा रहेकै बखत एकदिन अचानक न्युटन आइपुगे । हामी स्याउको रुखमुनि बसेर बातचित गर्दैथियौँ। त्यहीबेला उनको टाउकोमा स्याउ खस्यो । कसै कसैले त्यो स्याउ बेलायतमा रहेको उनको बगैँचामा खसेको हो भन्छन् । तर होइन, खसोखास स्याउ खसेको झापाको हाम्रै बगैँचामा हो । हामीले हेर्दाहेर्दै स्याउ जमिनतिर खस्यो, माथितिर गएन । उनी किन स्याउ माथि नगएर तलै खस्यो भनेर अचम्म मान्न थाले । उनले अचम्म मान्दा मलाई ताजुक लाग्यो । नेपालमा आएर स्याउ खसेको देख्ने मान्छे यस्तै हुन्छन् भनेर पहिले त त्यति वास्ता गरिनँ । उनले हैन यसलाई त एउटा सिद्धान्तको रुपमा व्याख्या गर्नुपर्छ भने । मैले लौन त लौ उसो भए यो सिद्धान्तको नाम नेपाली मौलिक हुनुपर्छ भनेर गुरुत्वबल र गुरुत्वाकर्षण राख भनेँ । उनले खुरुक्क माने । गुरु भनेको नेपाली नाम हो नि । गुरु नाम जोड्ने प्रेरणा नै मैले दिएको हो न्युटनलाई ।

माधव नेपाल : हा हा घोर अपमान । मलाई यस्तो अपमान गरेर गफ दिएको मन पर्दैन भन्देको छु । लेनिन र न्युटनको धाक नलगाउनु । मैले के गरिनँ त्यो चाहिँ हेर्नु । कालमार्क्स रौतहट आउँदा मेरै घरमा बस्नुभएको थियो । उहाँले नै मलाई कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरणा दिनुभयो । मैले के के मात्र गरिनँ यो देश र विश्वका लागि ? माओवादीलाई मैले नै हो शान्ति प्रक्रियामा ल्याएको । उत्तर कोरिया र अमेरिकालाई शान्ति वार्तामा बस्न मैले नै भनेको । माधव नेपालको योगदानलाई कम नठानियोस् । स्याउको गफ दिने ह्याउ त हामीसँग पो छ । हामीलाई अपमान नगरियोस्, भन्देको छु मैले ।

देउवा : भनेर भन्देखिनलाई त्यस्ता नाथे स्याउ, लेनिन र मार्क्सको धाक नलगाउन न यार । तिमीहरुलाई के थाहा छ ? ठूलाबडासँगको सङ्गत कस्तो हुन्छ भन्ने हामीलाई सोध न । म लन्डनमा पढ्न बसेको बेला लङ्काबाट हनुमान टुप्लुक्क पुगेका थिए । लामो कुराकानीपछि थाहा भयो, उनी रामभक्त रहेछन् । हनुमानले मलाई छाति फोरेर देखाए, त्यहाँ त हाम्रो रामचन्द्र पो रहेछन् । हनुमानका छातिमा खुम्चिएको देखेपछि मलाई त्यसैदिन देखि रामचन्द्र मन पर्न छाडेका हुन् ।

रामचन्द्र : तिमीलाई मन नपरेर हुन्छ ? रामचन्द्र भनेका रामचन्द्र, भगवान । तिनै भगवान रामचन्द्रको स्वरुपमा मेरो जन्म भएको हो तनहुँमा । आदिकवि भानुभक्त मेरै गाउँको । हामी सँगै गोठालो जान्थ्यौँ। गुच्चा खेल्थ्यौँ । उनी घाँस काट्ने मान्छेको कविता लेखेर बस्थे । म चाहिँ वीपी जन्मने प्रतिक्षामा टोलाउँथे । आखिरमा वीपी जन्मिए । भानुभक्त घाँसीको प्रेरणाले आदिकवि भए, म वीपीको प्रेरणाले न आदि, न पूरा नेता भएँ । घाँसीले कुवा खनेर नाम कमाए । भानुभक्तले तिनै घाँसीको कुरा गरेर नाम कमाए । म चाहिँ १७ पटक लड्दा पनि प्रधानमन्त्री बन्न नसकेको बदनामी काँधमा बोकेर अझै पनि कांग्रसै भएर बसेको छु । के यो चानचुने मान्छेले गर्नसक्ने त्याग र सहनसक्ने बद्नामी हो ?

बाबुराम : हाहा विचरा रामचन्द्रजी । हरिबिजोक भन्थे, रामबिजोक भन्नुपर्ने भयो भन्ने हामीलाई लाइराछ । तपाईँ भानुभक्तको गफ दिनुहुन्छ । मैले भारतमा पढ्दा गान्धीसँग भेट भएको कुरा उनै गान्धीबाहेक अरु कसलाई थाहा होला ? बेलुकीपख गान्धी बुढा लौरो टेकेर लखरलखर मेरो डेरामा आउँथे । हामी घण्टौँ भारतीय स्वतन्त्रताको कुरा गर्थ्याैँ । मलाई डाक्टरी गर्नुथियो, पढ्नतिर लागेँ। बुढा एक्लै अघि बढे र अहिले कहाँबाट कहाँ पुगे ।

उपेन्द्र यादव : नाथुरामले नसिध्याएको भए अझै कहाँ पुग्थे होलान् गान्धी । गान्धीलाई हत्या गर्ने नाथुराम गोडसे हाम्रा गाउँ आएका थिए, सप्तरीमा । मसँग भेट भएको थियो । गान्धीलाई सिध्याउनुपर्यो के गर्ने भनेर मलाई भने । मैले हैट त्यस्तो नि गर्नुहुन्छ, हुँदैन भनेर सम्झाइबुझाइ गरेर पठाएको थिएँ । मेरो कुरै नसुनी ठोक्देछ । विचरा गान्धी ।

वामदेव : हेर हेर यिनीहरुका फुर्ती। कामदेव र रामदेव सँगै पढेको वामदेवको अघिल्तिर गान्धी र हनुमानको फुर्ती लगाएर बसेका छन् । मेरै नामबाट प्रेरित भएर एउटाले कामदेव राखे, अर्काले रामदेव । कामदेव हिन्दु धर्मका प्रेम र कामका देवताको रुपमा कहलिए, रामदेव चाहिँ बाँदर झैँ उफ्रिएर दिन कटाउँदैछन् । म बिचरो वामदेवलाई लुरेभुरे वामपन्थीले नै मान्दैनन् त के गरौँ ।

सबै टाउकेहरुले आपसमा टाउको नै ठोकौँलाझैँ गरी दुनियाँभरका टाउकेहरु भेटेको गफ लडाएपछि महन्थले भेटघाटको बिट मार्दै भने : हो हो हामी सबै कोहीभन्दा कम छैनौँ। सबैको सबैसँग उठबस र सङ्गत राम्रो छ । तर पनि देश भनेजस्तो भएन । देशलाई भनेजस्तो बाटोमा हिँडाउन एकपटक श्रीलङ्काका राजापाक्षेहरुसँग पनि भेट गर्नुपर्ने भयो । हुन त हामी कोही राजाको पछि त कोही राजापाक्षेकै पछि लागेका छौँ क्यारे । देश श्रीलङ्का हुन्छ भनेर मात्रै भएन, श्रीलङ्का बनाउनतिर नै लाग्नु पर्यो । हाम्रो अहिलेसम्मको कामले त ढिलोचाँडो हुने श्रीलङ्का नै हो । तर चुनावमा बुढाखाडा नेतालाई हराउने भनेर एकथरी उफ्रिरहेका छन् । तिनीहरुले पाखा लगाउन नपाउँदै राजापाक्षेलाई भेटौँ र देशलाई छिटै श्रीलङ्काकै बाटोमा हिँडाऔँ ।

हो यो हो नि कुरा । ल त्यसै गरौँ। राजापाक्षेलाई पहिले कसले भेट्ने त ?

म भेट्छु पहिले ।

हैन हैन म भेट्छु ।

महन्थले कुराको बीट मार्नु अघि पोस्टरमा भर्खरै प्रवेश पाएका अर्थमन्त्री शर्माले भने, ‘मैले त भेटेर नि फर्किसकेको छु । नभेटेकाहरुले भेट्नु, भेट्न नभ्याए मलाई नै सोधे नि हुन्छ देशलाई कसरी श्रीलङ्काजस्तो बनाउने भनेर ।’

–उज्यालो अनलाइनबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending