Banner
रेखाको च्याँखेदाउले मोरङ ३ मा कसले बाजी मार्ने भन्ने अड्कल गर्न गाह्रो

विराटचोकः मोरङको क्षेत्र नम्बर ३ लाई कम्युनिष्टको मुखबाट भन्ने हो भने लालकिल्ला मानिएको क्षेत्र हो । यस ठाउँबाट राष्ट्रिय निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेद्वारले जित्दै आएका छन् । यस अघि भएको निर्वाचनमा पनि एमाललेका भानुभक्त ढकाल विजयी भएका थिए । यस पटकको निर्वाचनमा माहोल फेरिएको छ । नेकपा एमालेबाट निवर्तमान सांसद ढकाल र काग्रेसबाट यसअघि ढकालसँग नै पराजित भएका डा. सुनिल शर्मा नै प्रतिष्पर्धामा रहेका छन् ।
यस पटकको प्रतिष्पर्धाको निर्णायक भूमिका राप्रपा नेतृ नायिका रेखा थापाको उम्मेद्वारीलाई लिइएको छ । खासगरी काङ्ग्रेसको मत काट्न रेखाको उम्मेदवारीले सहयोग हुने एमालेको बुझाई रहेको छ भने १५ हजार मत रेखालाई दिए पनि आफूले चुनाव जित्नेमा शर्मा ढुक्क देखिएका छन् । रेखा भने पुराना अनुहारलाई बिदा गर्ने दाउमा रहेकी छिन् । उनको चुनावी माहोल लोभलाग्दो रहेको छ । तर उनलाई नायिकाको रुपमा हेर्नमात्रै जाने गरेको चर्चा पनि हुने गरेको छ ।
गत स्थानीय तहको निर्वाचनलाई हेर्दा यस क्षेत्रमा एमाले र काङ्ग्रेसकै प्रतिष्पर्धा हुने देखिन्छ । राप्रपा भने यस ठाउँमा कमजोर रहेको छ । तर धरमरिएका मत केही संख्यामा रेखालाई गए पनि आफ्नो पकड क्षेत्र भएकाले एमाले लालकिल्लालाई बचाइराख्न कोशिसरत देखिन्छ ।
चियागफः आशालाग्दा उम्मेद्वार पाइएन
विहान बेलुका हुने चिया गफले गाउँमा निर्वाचनको माहोल तताएको छ । युवादेखि ज्येष्ठसम्म विभिन्न पार्टीका व्यक्ति भेला हुने र राजनीतिक गफ छाँट्ने क्रम बढ्दो छ । यसरी उम्मेद्वारको पक्ष र विपक्षमा हुने गफले पनि निर्वाचनमा कसको माहोल कस्तो हुने छ भन्ने आँकलन गर्न सकिन्छ ।
एमाले उम्मेद्वार ढकालको पक्षमा विरोध र आलोचना बढी हुने गरेको छ । खास गरी कोभिडकालमा स्वास्थ्य सामग्री खरीद प्रकरणमा अनियमितता भएको भनी उनीमाथि आरोपहरु लाग्ने गरेका छन् । यस बाहेक निर्वाचित भएपछि गाउँ नआएको भन्दै उनी आलोचित भएका छन् ।
डा. शर्मालाई विराटनगरस्थित नोबेल मेडिकल र काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजकामा विद्यार्थीलाई आर्थिक शोषण गरेको, पार्टीको १४ औँ महाधिवेशनदेखि स्थानीय तहको निर्वाचन सम्म आउँदा आफ्नै नेता कार्यकर्तालाई मिलाउन नसकेको, अन्तरघात गरेको भन्दै आलोचना हुने गरेको छ ।
यसैगरी रेखा थापा च्याँखे दाउ थाप्न मात्रै यस क्षेत्रमा आएको, यस अघि कहिल्यै नआएको, गत स्थानीय निर्वाचनमा पनि नदेखिएको, सिने क्षेत्रमा यत्रा वर्ष काम गर्दा आफ्नो गाउँ बिर्सिएको र फेरि पनि बिर्सिने भन्दै उनको समेत आलोचना हुने गरेको छ । कतिपयले आशा लाग्दा उम्मेद्वार नपाएको गुनासो गर्ने गरेका छन् ।
के छन् एजेन्डा ?
एमालेले राष्ट्रियताको सवालमा चर्काे आवाज उठाउँदै आएको छ । यसलाई नै ढकालले एजेन्डा बनाएका छन् । यसअघि मन्त्री हँुदा विभिन्न कानुन निर्माण गरेको, आफ्नो क्षेत्रमा विकास गरेको भन्दै पुनः निर्वाचनमा होमिएका छन् । काङ्ग्रेस नेता शर्माको भने मुख्य एजेन्डा बिरामीको सेवा, स्वास्थ्य सुविधा, आफ्नो अस्पतालबाट सो क्षेत्रका नागरिकको छुटमा उपचार गरेको र फेरि गर्ने लगायतका मुख्य एजेन्डा रहेका छन् । यिनै एजेण्डारुपी चुनावी अस्त्र बनाएर उनी मैदानमा उत्रिएका छन् ।
थापा भने भ्रष्ट नेतालाई फालाँै भन्दै निर्वाचन क्षेत्रको प्रचारमा लागेकी छिन् । राप्रपाले प्रदेश खारेज, हिन्दू राष्ट्र, राजसंस्था स्थापना लगायत फरक एजेन्डा बोकेर आएको छ ।
अन्योलमा मतदाता
राजनीतिक दलका पछिल्ला गतिविधि देखेर आमनागरिक अन्योलमा देखिएका छन् । फरक अस्तित्व बोकेका पार्टीले चुनाव जित्ने र सत्ता स्वार्थको राजनीतिमा लिप्त हुने गरेकाले कसलाई मतदान गर्ने भन्नेमा अन्योल सिर्जना भएको देखिन्छ । काङ्ग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जनमोर्चा लगायतको गठबन्धन र एमाले राप्रपाको तालमेलले नागरिकमा निराशा छाएको छ । पार्टीकै कतिपय नेता कार्यकर्तालाई यो विषय टाउको दुखाइको विषय बनेको छ ।
पार्टीका केही कार्यकर्ता बाहेक सामान्य नागरिक पार्टीको प्रचारमा मन लगाएर खुल्ने गरेको देखिँदैन । यसको मुख्य कारण राजनीतिक दलका नेताका कारण भएको चिया गफमा चर्चा हुने गरेको छ । देशको हितमा लाग्ने र बहुमत ल्याएर सरकार चलाउन कुनै दलले नसक्ने र फेरी पनि अस्थिर सरकार बनाउने र भत्काउने खेल शुरु हुने सम्भावना भएकाले मतदातामा निराशा पैदा भएको हो ।
गत स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत हेर्दाको परिणाम
गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत संख्या हेर्दा एमाले थोरै मतले अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार ४ सय १०, कांग्रेसको ३६ हजार ९ सय १६, माओवादीको ७ हजार तीन सय ७३, एकीकृत समाजवादीको १ हजार ८ सय ५५ मत, जनता समाजावादी पार्टीको ४ सय ६३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार १ सय २१ मत रहेको छ ।
कति छन् मतदाता ?
बेलबारी, सुन्दरहरैँचाका ६ वटा वडा, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिका गरी २६ वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार आठ सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (क) मा ७५ हजार तीन सय ९३ र प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा ७४ हजार दुई सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ४८ मतदान केन्द्र रहनेछन् ।
भावी प्रधानमन्त्री हेरेर भोट गर्ने अवस्था कत्तिको रहेको छ ?
कतिपय ठाउँमा भावी प्रधानमन्त्री हेरेर भोट दिनुपर्ने र व्यक्तिभन्दा माथि पार्टी रहेको अभिव्यक्ति दिने गरेको पाइन्छ । स्वतन्त्र नागरिक र एमाले पक्षधरले यो बहसलाई प्राथमिकताका साथ उठाउने गरेका छन् । सचेत युवा जगतले समेत संघीय र प्रादेशिक चुनाव भएकाले अंक गणितको हिसाबमा कुनै एक पार्टीलाई मत दिएर जिताउनुपर्ने बताउने गरेका छन् । यो अवस्था भने आगामी मंसिर ४ पछि थाहा हुने नै छ ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login