Connect with us
Advertisement

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीसँग ६ दिन घुम्दा

Published

on

विराटचोकः प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनी गृह जिल्लाका औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएका छन् । त्यस क्रममा उनी गृह जिल्ला सोलुखुम्बुका साथै उदयपुर र ओखलढुङ्गाका विभिन्न कार्यक्रममा सहभागी भएका हुन् ।

माघ १० गते मङ्गलबार
गृह जिल्ला जाने क्रममा मन्त्री राजभण्डारीले उदयपुरको चौदण्डीगढी र घुर्मी तथा ओखलढुङ्गाको हर्कपुर र जिल्ला सदरमुकाम ओखलढुङ्गामा भएका कार्यक्रममा उनी सहभागी भए ।

चौदण्डीगढी, घुर्मी र हर्कपुरमा एकएक वटा कार्यक्रममा सहभागी भए पनि ओखलढुङ्गाको सदरमुकाममा उनले ४ वटा कार्यक्रममा सहभागिता जनाए ।

नेकपा एमाले ओखलढुङ्गा र निजामती कर्मचारी सङ्गठन ओखलढुङ्गाले गरेका फरकफरक कार्यक्रममा सहभागी भएर उनले सुझाव लिनुका साथै आवश्यक निर्देशन दिएका थिए । स्रष्टा पार्कमा राजभण्डारी समाजद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मान पनि गरिएको थियो ।

स्रष्टा पार्कको आडैमा रहेको पुरानो छात्रावासको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विभागीय मन्त्रीसँग माग गरिएको थियो ।

माघ ११ गते बुधबार
बिहान ८ बजे नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा राजभण्डारी सहभागी भए । गृह जिल्लाको पार्टी कमिटीले आयोजना गरेको सो कार्यक्रममा उनलाई बधाई दिन सयौँको सङ्ख्यामा कार्यकर्ता उपस्थित भएका थिए ।

कार्यक्रममा उनले म होइन हामी भन्ने भावनाका साथ अघि बढेमा पार्टीको सुदृढीकरण हुने उनले बताए । आफूलाई सोलुखुम्बुका मतदाताले जिताएका भए पनि पार्टीले प्रदेशको मन्त्री बनाएकाले सोलुखुम्बुको मात्रै नभएर प्रदेशभर आफू व्यस्त रहनुपर्ने बाध्यता बुझिदिन उनले अनुरोध गरे ।

दिउँसो आफ्नो निवास रहेको सोलु दूधकुण्ड नगरपालिकाको वडा नम्बर ६ को कार्यालय भवन उनले उद्घाटन गरे । गृह जिल्लामा सरकारी निकायले गरेको पहिलो औपचारिक कार्यक्रमको समापनपछि उनी छलफल र भेटघाटमै व्यस्त रहे ।

माघ १२ गते बुधबार
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने र विकट गाउँ भनिर चिनिने महाकुलुङको वडा नम्बर ४ मा रहेको गुदेल माविको हीरक महोत्सवको उद्घाटन गर्ने कार्यका लागि बिहान ५ बजे नै उनी तयार भए । सदरमुकामबाट पहिले २ दिनको पैदलयात्रापछि पुगिने सो स्थान अहिले कच्ची सडकले जोडिएको रहेछ ।

यात्राको क्रममा बाटोमा पर्ने सोताङ गाउँपालिकाको वडा नम्बर १ मा रहेको हुलु माध्यमिक विद्यालयको सरस्वती पूजामा सहभागी भएका मन्त्री राजभण्डारीलाई प्रधानाध्यापक टेकबहादुर राईले विद्यालयको लागि भवन बनाउन बजेट विनियोजन गर्न माग गरे । तर, मन्त्री राजभण्डारीले बजेट दिन नसकिने बताए ।

पहिले बनाएको भवन नै विद्यालयले प्रयोगमा नल्याएको हुनाले तत्काल बजेट दिन नसकिने उनको भनाइ थियो ।

बाटोमा पर्ने सोताङ गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा सरिक भएपछि राजभण्डारी महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको गुँदेल मावि पुगे ।

विकटताको हिसाबले सोलुको कर्णाली भनेर चिनिने महाकुलुङको गुँदेलमा रहेको सो माविद्वारा आयोजित हीरक महोत्सवलाई उनले सम्बोधन गरे ।

आफूले पहल गरेर सो विद्यालयमा २०५४ सालमा माविको दरबन्दी ल्याउन सफल भएको उनले बताए । सामाजिक विकासमन्त्री भएपछि जनचाहनाअनुसार काम गर्नुपर्ने र प्रदेशमा प्रतिपक्षमा रहेको कांग्रेसलगायतका दलसँग सहकार्य गरेर विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कर्मचारीतन्त्रले गाँजेको मुलुक भएको हुनाले सरकारका निर्णय कार्यान्वयन गराउन गाह्रो हुने गरेको उनले बताए ।

महाकुलुङबाट भोजपुर जोड्ने सडक भोजपुर र सोलुखुम्बु दुवैतिरबाट ट्रयाक खोल्न शुरु गर्नुपर्ने आफ्नो राय रहेको उनले बताए । सल्लेरी– महाकुलुङ, सल्लेरी–नेचा सल्यान, सल्लेरी–लिखु पिके लगायतका सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने र सोलुखुम्बुमा कालोपत्रेभन्दा पहिले ट्रयाक खोल्ने र ट्रयाक खोलिएका सडकको स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

महाकुलुङ र गुँदेललाई जोड्न हुङ्गा खोलमा मोटरेबल पुल र टेलिकमको टावर निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनले जानकारी दिए । स्थानीयका समस्या नसुन्ने हाइड्रोपावरको विरुद्धमा लाग्नुपर्ने बताउँदै विगतमा भन्दा आगामी वर्षमा सोलुखुम्बुको शिक्षा क्षेत्रमा धेरै बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

माघ १३ गते
सदरमुकाम फर्कने क्रममा अघिल्लो दिनको बाटो नफर्किई छेस्कामतर्फको बाटो फर्कने सल्लाहअनुसार बिहान ६ बजे गुँदेलबाट भ्रमण टोली छेस्कामतर्फ लाग्यो । छेस्काममा पार्टी कार्यकर्तासँगको भेटको क्रममा उनले भुवा खोलामा मोटरेबल पुल बनाउन पहल गर्ने आश्वासन दिए ।

त्यसपछि मध्य होङ्गु खोला हाइड्रोपावरका व्यवस्थापक गोपाल आचार्य र प्रकाशकुमार अधिकारीले मन्त्री र स्थानीयवासीसँग भेट गरे । बाटोमा मन्त्रीको गाडी देखेपछि उनीहरुले मन्त्रीलाई भेट्न चाहेका रहेछन् ।

बुङमा पार्टीले आयोजना गरेको छोटो भेटघाट कार्यक्रममा मन्त्री राजभण्डारीले वडाको पर्यटकीय क्षेत्रसम्म पुग्ने बाटोको ट्रयाक खोल्ने र आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माणमा आफूले ध्यान दिने आश्वासन दिए । भल र ढलको व्यवस्थापन, शनिबार हटियाको व्यवस्थापन, शिशु स्याहार केन्द्रको व्यवस्थापनमा लाग्ने उनको भनाइ थियो ।

त्यसपछि महाकुलुङ गाउँपालिकाको कार्यालय बुङमा गाउँपालिकाका कर्मचारीद्वारा आयोजित कार्यक्रममा मन्त्री राजभण्डारीले ऊर्जावान कर्मचारी भएमा देश विकासमा सहयोग पुग्ने बताए । अधिकांश कर्मचारी ३० वर्षभन्दा कम उमेरका देखेपछि उनले कर्मचारीको मनोबल बढाउन ऊर्जावान्को संज्ञा दिएका थिए ।

त्यसपछि सोताङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले गाउँपालिकामा संघीय र प्रदेश सरकारका योजना पार्न मन्त्री राजभण्डारीको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि नेकपा एमाले सोताङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट तथा बधाई कार्यक्रममा सरिक भएका राजभण्डारीले अहम्ताका कारण पार्टीलाई घाटा पुग्ने बताए । गत स्थानीय तहको निर्वाचनमा देखिएको अहमताकै कारण सोताङ गाउँपालिकाको अध्यक्ष पदमा एमालेले हार बेहोर्नुपरेको उनले बताए । पार्टी सुदृढीकरणमा लाग्न उनले उपस्थित नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

साँझमा सोलु दूधकुण्डमा आयोजित कार्यक्रममा विभिन्न मितिमा जिल्लामा भएका आगलागीपीडितलाई प्रदेश सरकारले उपलब्ध गराएको राहत वितरणमा उनी सहभागी भए । राहत लिन सदरमुकाम आउन तयार भएका आगलागीपीडित महाकुलुङ ३ छेस्कामका आगलागीपीडित कृपा बिकलाई उनले आफ्नै सवारी साधनमा लिएर आएका थिए ।

माघ १४ गते
बिहान पैदलै सल्लेरी बजारको भ्रमण गर्नुपूर्व मन्त्री राजभण्डारीले योङ स्टार क्लबको बारेमा सञ्चारकर्मीलाई जानकारी दिए । त्यसपछि पैदलै उनी अध्यक्ष रहेको एभरेष्ट कलेजको बैठकमा सहभागी भए । बैठकपछि पैदलै शनिबारे हटियाका साथै बजारको निरीक्षणमा निस्किएका उनी दिउँसो पनि भेटघाट र छलफलमै व्यस्त रहे ।

उनी संस्थापक सदस्य रहेको योङ स्टार क्लबले आयोजना गरेको कार्यक्रममा दिउँसो सहभागी भएका उनलाई क्लबले सम्मान गरेको थियो । सो क्लबले विभिन्न सामाजिक क्षेत्रमा काम गरेकाले जिल्लाको मात्रै नभएर प्रदेशकै प्रख्यात क्लबका रुपमा परिचित छ ।

बेलुका ४ बजे जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा उनले जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया गरे । सरकारी कार्यालयका गुनासा र सुझावलाई सुन्ने र आवश्यक सल्लाह दिने काम उनले गरे ।

सवारी साधन टाटा सुमोमा रहेका छत हटाउनुपर्ने भनी ट्राफिक प्रहरीले व्यवसायीलाई जानकारी गराएपछि सुमो व्यवसायीले माघ १५ गते सवारी साधन बन्दको घोषणा गरेका थिए । सो बन्द खुलाउन १४ गते सम्बन्धित निकायसँग मन्त्री राजभण्डारीले फोनवार्ता गरेका थिए । चाँडो समस्याको समाधान निकाल्न उनले आग्रह गरेका थिए ।

माघ १५ गते
५ दिनसम्मका औपचारिक अनौपचारिक कार्यक्रम सकेर १५ गते बिहान ६ बजे मन्त्री राजभण्डारी विराटनगरतर्फ प्रस्थान गरे । सुमो व्यवसायीले आह्वान गरेको यातायात बन्दका कारण सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट लामो दूरीका यातायातका साधन चलेका थिएनन् । बाटामा अलपत्र परेका अत्यावश्यक काम परेका यात्रुहरुलाई विराटनगर जाने सरकारी कार्यालयका सवारी साधनमा जाने वातावरण मिलाउन आग्रह गर्नुका साथै चाँडो वार्ता गरी समस्याको समाधान गर्न उनले फोनमा जानकारी गराइरहेका थिए । मन्त्रीको बारम्बारको ताकेतापछि तत्कालका लागि छत हटाउने निर्णयबाट ट्राफिक प्रहरी पछि हटेपछि दिउँसोदेखि यातायातका साधन सुचारु भएका थिए ।

फर्कने क्रममा पनि मन्त्री राजभण्डारी ओखलढुङ्गा र उदयपुरका केही कार्यक्रममा सहभागी भएका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending