Banner
सोलुखुम्बुकी एक्ली महिला वडाध्यक्ष सरस्वती कुलुङ, जो पढाउन छाडेर राजनीतिमा होमिइन्

विराटचोकः सोलुखुम्बुको विकट भूभाग समेटिएको पालिका हो महाकुलुङ गाउँपालिका । ५ वटा वडामा समेटिएको महाकुलुङको वडा नम्बर ४ की अध्यक्ष हुन् सरस्वती राई (कुलुङ) । सोलुखुम्बु जिल्लाकै एक्ली महिला वडाध्यक्ष कुलुङ स्थानीय गुँदेल माविमा अध्यापन गर्दागर्दै शिक्षित व्यक्ति राजनीतिमा लागेर राजनीतिको विकृति हटाउने अठोटमा लागिन् । उनी ईपीएममा स्नातकोत्तर गरेकी जनप्रतिनिधि पनि हुन् ।
‘पहिले शिक्षकहरुलाई कारवाही गर्नुपर्याे भने महाकुलुङमा सरुवा गर्ने चलन थियो’, गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङ भन्छन्, ‘यो दृष्टान्तले पनि महाकुलुङ कति विकट भूगोल लिएर बसेको छ भन्ने प्रष्ट हुन्छ ।’ अध्यक्ष कुलुङका अनुसार महाकुलुङमा ६४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पालिकामा सडकको ट्रयाक मात्रै खोलिएको छ । जहाँ मुस्किलले टाटा सुमोलगायतका साधन चल्छन् । जिल्ला सदरमुकाम सल्लेरीबाट महाकुलुङको गुँदेल पुगेको भाडा र संघीय राजधानी काठमाडौंको सवारी भाडा झण्डै बराबर छ ।
कुलुङ जातिको उद्गमस्थल मानिने महाकुलुङको ३ वटा जिल्लासँग सिमाना जोडिएको छ । सो पालिकाको सिमाना पूर्वमा संखुवासभासँग तथा दक्षिणमा खोटाङ र भोजपुरसँग जोडिएको छ । तर, सडक सञ्जालमार्फत् भने ती जिल्लासँग सम्बन्ध नजोडिएकाले छिमेकी जिल्लाका पालिकासँग गहिरो सम्बन्ध भने जोडिन सकेको छैन ।
सोही विकट पालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित ३६ वर्षीया सरस्वती २ छोरा र श्रीमानका साथमा रहँदै आएकी छिन् । काखको छोरो २ वर्षको मात्रै भएकाले उनी साथैमा लिएर हिँड्छिन् । जसले गर्दा कहिलेकाहीँ कार्यसम्पादनमा अप्ठ्यारो अवस्था पनि आउँछ ।
किसान परिवारकी कान्छी छोरी उनी स्कुलमा पढ्दैदेखि राजनीतिमा लागेकी थिइन् । अखिल नेपाल महिला संघको कार्यालय सचिव र पछि जिल्ला अध्यक्ष हुँदै राजनीतिमा अघि बढेकी उनी हाल नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्यका साथै महाकुलुङ गाउँपालिका इन्चार्जको रुपमा पार्टीमा समय दिइरहेकी छिन् ।
काम क्षमताले गर्ने भएको हुनाले महिला र पुरुष अर्थात् लिङ्गको आधारमा फरक नपार्ने सोच राख्ने सरस्वती भौगोलिक विकटता र सीमित बजेटका कारण वडावासीले चाहेअनुसारका काम गर्न नसकिएको स्वीकार्छिन् । अप्ठ्यारालाई पार गर्दै अघि बढिरहँदा आफू सफल भएको ठानेकी उनी सुनाउँछिन् ।
सानो बच्चा भएको र ऊ बिरामी हुँदा जनताको काम गर्न समस्या पर्ने गरे पनि त्यसैको बहाना बनाएर वडावासीको समस्यामा समाधान दिन नसकेको अवस्था भने नभएको उनले सुनाइन् । कतिपय घरायसी झगडामा राति नै वडावासीको घरसम्म पुगेको अनुभव पनि उनले सुनाइन् ।
‘रातको १ बजे पनि फोन आउँछ वडावासीलाई समस्या पर्दा,’ निदाएको कान्छो छोरालाई काखमा बोकेकी उनले भनिन्, ‘कहिलेकाहीँ श्रीमान्श्रीमतीबीच झगडा पर्दा राति नै बोलाउनुहुन्छ र राति नै बोलाएको ठाउँमा पुग्नु पनि पर्छ ।’
वडाबासीको आमभेलाबाट आएका योजनाको प्राथमिकताका आधारमा बजेट विनियोजन हुने गरेको सुनाउँदै उनले सडक, गोरेटो, भवन निर्माण लगायतमा बढी योजना माग हुने गरेको उल्लेख गरिन् ।
चालु आर्थिक वर्षमा महिला उद्यमशीलताका लागि ८ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको र त्यसबाट होजियारी तालिम सञ्चालन गर्ने उद्देश्य राखेको उनले सुनाइन् । तालीम लिएर उनीहरुले महिनाको ५ हजारमात्रै कमाए भने पनि आर्थिक विकासमा सहयोग पुग्ने उनको अनुमान छ ।
कुलुङ फुर्काका साथै कुलुङ जातिका अन्य सांस्कृतिक पहिचानलाई सबैतिर कसरी पुर्याउने भनेर अहिले हामी छलफल भइरहेको उनले सुनाइन् ।
जनप्रतिनिधि हुनुभन्दा अगाडि युनिसेफसँग जोडिएर पारालिगल कार्यक्रममा डिस्ट्रिक रिसोर्स पर्सनको रुपमा काम गरेकी उनले मात्रै होइन गाउँपालिकाका कुनै पनि जनप्रतिनिधिले सवारी साधनको सुविधा लिएका छैनन् ।
आलु, तरकारी, कोदो, स्कुस, किबी आदि मुख्य उत्पादन हुने महाकुलुङका उत्पादनको बजारीकरणको लागि पनि सडक सञ्जाल मुख्य माध्यम रहेको हुनाले सडकको स्तरोन्नतिमा गाउँपालिका लागेको उनले बताइन् ।
महाकुलुङलाई संखुवासभाको सिलिचोङ र भोजपुरको साल्पा सिलिचो हुँदै पूर्वी तराईसँग जोड्न सकेमा महाकुलुङको उत्पादन पूर्वी तराईसम्म पुग्ने र स्थानीयको आय आर्जन हुने सोलुखुम्बुबाट निर्वाचित सांसद तथा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी बताउँछन् ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login