Banner
सुन्दरहरैंचाको वडा नम्बर १२ मा फोहरमैलाको व्यवस्थापन नयाँ ढङ्गले हुने, नगरमै नमूना काम हुने अपेक्षा

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ ले व्यवस्थित तरिकाले फोहरमैलाको विसर्जन गर्ने भएको छ । फोहर उत्पादनको स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ । रेडियो सुसेलीको सहजीकरण तथा वडा कार्यालयको आयोजनामा हिजो भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् । अन्य वडामा पनि फोहरमैला व्यवस्थापनमा बजेट विनियोजन भएकाले सबै वडाले प्रभावकारी काम गर्न सके नगरलाई सफा राख्न मद्दत पुग्ने उनले जनाए ।
शुरुमा जनचेतना जगाई त्यसपछि प्रभावकारी ढङ्गले फोहरको व्यवस्थापनमा लाग्ने ढकालले बताए । यसमा सबै वडावासीको सहयोगको अपेक्षा गरेको उनको भनाइ थियो । सुन्दरहरैंचाको नमूना कामको रुपमा गनिने गरी क्षेत्रफलको आधारमा सानो रहेको वडाबाट अभियान शुरु गर्न लागिएको उनले जनाए । वडाको काम सफल भएमा नगरभर नै अभियान सञ्चालन गरी सफा नगर बनाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण गरेका रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले देशका विभिन्न नगरले फोहरको वर्गीकरण र व्यवस्थापनमा गरेका अभ्यासको श्रव्यदृश्य प्रस्तुत गरेका थिए । कतिपय नगरले कुहिने फोहरबाट मल बनाएर प्रयोग गरेको र नकुहिने फोहर पेबललगायतका निर्माण सामग्री बनाउन र विभिन्न उद्योगलाई कच्चा पदार्थको रुपमा बिक्री गर्ने गरेको आफ्नो प्रस्तुतिका क्रममा निरौलाले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले अब नगरले कार्यविधि बनाएर फोहर व्यवस्थापन गर्ने जनाइन् । फोहरमैलाको वर्गीकरण तथा व्यवस्थापनको लागि आवश्यक पर्ने बजेट विनियोजन गरेर फोहरमैलाको व्यवस्थापनमा नगर अघि बढ्ने उनले जानकारी दिइन् । चेतना फैलाई सबै पक्ष फोहर व्यवस्थापनमा लागेमा नगरलाई सफा राख्न सहज हुने उनले औँल्याइन् ।
कार्यक्रममा आफ्नो धारणा राख्दै सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले वडावासीमा नकुहिने फोहरलाई बेच्ने बानीको विकास गराउन सके फोहर व्यवस्थापन सहज हुने औँल्याए । वडा नम्बर १२ का भित्री सडकमा निकासको व्यवस्था नहुँदा नालीमा फोहर जम्ने समस्या देखिएको बताउँदै त्यसतर्फ टोल विकास संस्थाले ध्यान दिनुपर्ने बताए ।
सरसफाइ अभियन्ता मोहन श्रेष्ठले निम्न आर्थिक अवस्था भएका वडावासीलाई सहकारी संस्थालगायतका सामाजिक उत्तरदायित्व वहन गर्ने अन्य संस्थालाई डस्बिन प्रदान गर्न अनुरोध गरेर प्रत्येक घरमा डस्बिन राखेर फोहर व्यवस्थापन गरिनुपर्ने बताए । शुरुमा जनचेतना फैलाउने र त्यति हुँदाहुँदै पनि आफ्नो वरपर देखिएको फोहर नलजाई टिप्ने बानीको विकास गर्न सके फोहरको समस्या नै नहुने उनको भनाइ थियो ।
एकता मिडिया प्रालिका अध्यक्ष रमेश खड्काले सवारी साधनबाट फ्याँकिने पानीका बोतल, चाउचाउका खोललगायतले सडक फोहर बनाइरहेको हुनाले सवारी साधनका चालक र सहचालकलाई पनि यस विषयमा जानकारी गराई सचेत गराउनुपर्ने आवश्यकता रहेको बताए ।
नेकपा एमालेका नगर अध्यक्ष मातृका ढकालले हामी आफैँ सचेत नभए फोहरको समस्या डरलाग्दो हुने उनको भनाइ थियो । यो अभियानका लागि सर्वपक्षीय सहयोग समिति बनाएर पूर्ण कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
राजनीतिज्ञ सुरेन्द्रबहादुर थापाले सचेतना जगाउन सक्नु मुख्य प्राथमिकता भएको बताए । मान्छेको सोचमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ थियो । युरोप तथा अमेरिकाको सरसफाइको बयान गर्ने मानिस ती देशबाट फर्किँदा एयरपोर्टमा आएर चुरोट खाएपछि चुरोटको ठुटो खुट्टाले कुल्चिएर हिँड्ने गरेको उनले औँल्याए । यो अभियानमा इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनालाई पनि जोड्न उनले सुझाव दिए ।
शिक्षक माधव दाहालले सहकारी सञ्चालक समितिका पदाधिकारीसँग बसेर सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । समुदायमा रहेका बाल क्लब, आमा क्लब, विभिन्न संघसंस्था आदिको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र व्यवस्थित तरिकाले फोहर विसर्जन हुन थालेपछि आगन्तुकको जानकारीका लागि प्लाष्टिक निषेधित क्षेत्र र फोहर गर्न नपाइने क्षेत्र भनेर साइन बोर्ड राखेमा बाटोमा कुनै पनि किसिमका प्लास्टिकजन्य फोहर नदेखिने बताए ।
शिक्षक हिमाल अधिकारीले जहाँ फोहर उत्पादन हुन्छ, त्यहीँबाट कुहिने र नकुहिने फोहर भनी वर्गीकरण गरेर व्यवस्थापनमा गर्नुपर्ने बताए । बजारबाट सामान ल्याउँदा प्लास्टिकका होइन कागज वा कुहिने पदार्थबाट बनेर झोलाको प्रयोग गर्न उपभोक्ता र व्यवसायीलाई आग्रह गर्नुपर्ने औँल्याए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, राजनीतिज्ञ र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login