Banner
‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री किराती

विराटनगरः ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ शुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ।
माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव सङ्कलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।
विगतमा सरकारमा पुर्याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किराती अब सरकारले गर्नुपर्ने कामहरु पनि जनताकै सुझावका आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र बाँड्दै मन्त्री किरातीले भने, ‘चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ । तपाईहरुले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौं, मन्त्री भएका छौ । अब तपाईहरुले भन्नु पर्यो, लिखित रुपमा भन्नु पर्यो हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’
काठमाडौंबाटै सुझाव संकलनका लागि सुझाव पत्र नै लिएर कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् । मन्त्री किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशानको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव संकलन गर्न खोजेका छन् । ‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गर्ने कोशिस गरेका छन् ।
उनले सुझाव पत्रमार्फत् आफू नेतृत्वको मन्त्रालयसँगै अन्य विकासे मन्त्रालयहरुले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरुको २ नम्बर बुँदामा लेखेका छन्, ‘हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’
त्यसैगरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् । उनले जनतासँग भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भुमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’
टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट सङ्कलन गर्ने
अभियानका क्रममा करिव पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना छ । किरातीको जिम्मेवारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजार भन्दा धेरै मतदाता छन् ।
सुझावहरु संकलन गर्न तयार पारिएको सुझवा पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पुर्याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव संकलन गर्न मन्त्री किराती आफै वडाको चोक चोकमा पुग्ने छन् ।
जनतासँग लिएको सुझावलाई केन्द्रीत गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यन्वयन गर्ने मन्त्री किरातीको योजना रहको छ । उनले भने, ‘त्यसै सुझाव लिन लागिएको होइन । हामी चाच्चिकै जनताको चाहना अनुसार काम गर्छौ । उहाँहरुले दिनु भएको सुझावलाई प्राथमिकीकणरका आधारमा कार्यन्वयन गर्ने योजना छ ।’
शनिबारदेखि देशैभर माओवादीको अभियान शुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ । अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रुपमै सुझाव माग्ने काम कम्तिमा पनि माओवादीका लागि पहिलो र नौलो अभ्यास हो ।
यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेले झै जनताको घर पुगेर फर्कन्थे । मन्त्री किरातीले भने, ‘विगतमा मैले पनि त्यसै गरेका थिए तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’
प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराती १६ गते विहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए । उनले यसअघिका शनिबारमा पनि सरसफाइ तथा वृक्षरोपणमा जुट्दै आएका छन् । यो शनिबार पनि मन्त्री किरातीले बेलबारी पुगेर पनि बेलबारी बहुमुखी क्याक्पस लगात धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा बिहानै वृक्षरोपण गरे । बिहान वृक्षरोपणमा जुटेका मन्त्री किराती दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए ।
मन्त्री किरातीले सुझाव संकलनका लागि तयार पारेका प्रश्नहरू
१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमिकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?
२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाइजहाड (उड्डयन) सडक, जलविद्युत् लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?
३. नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login