Banner
आइपीओ निष्कासन अनुमति पाएका ३० हाइड्रोपावर कम्पनीमध्ये १९ को नेटवर्थ ऋणात्मक

काठमाडौंः नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा अहिलेसम्म गरी कुल ३० हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । त्यसअघि पनि हाइड्रोपावरको आइपीओ आएकै हुन्थ्यो ।
जसअनुसार गत वर्ष २९ र चालु आर्थिक वर्षमा १ गरी ३० वटा हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न अनुमति पाएको देखिन्छ । यसरी आइपीओ बिक्री गर्न अनुमति पाएका ३० मध्ये १९ वटा कम्पनीको प्रतिशेयर नेटवर्थ ऋणात्मक अर्थात्, १०० रुपैयाँभन्दा पनि कम रहेको छ । यसरी नेटवर्थ ऋणात्मक हुनेलाई हेर्दा कुल निष्कासन अनुमति पाएका हाइड्रोपावर कम्पनीको ६३ प्रतिशत हुन आउँछ । त्यसैगरी, अधिकांश आइपीओ अनुमति पाएका हाइड्रोपावर कम्पनीको प्रतिशेयर आम्दानी पनि नोक्सानीमा रहेको देखिन्छ । गत वर्ष साधारण शेयर जारी गर्न अनुमति पाएका हाइड्रोपावर कम्पनीमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको नेटवर्थ सबैभन्दा धेरै १६५ रुपैयाँ ४ पैसा रहेको छ । यो गत वर्षको चैतमसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार हो । यसले चौथो त्रैमासको रिपोर्ट भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
दोस्रोमा भिजन लुम्बिनी उर्जाको नेटवर्थ १३९ रुपैयाँ ७७ पैसा रहेको छ । यसले चालु आर्थिक वर्षमा आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । अब सर्वसाधारणलाई सेयर बिक्री गर्न बाँकी छ । तथ्याङ्क अनुसार ३० कम्पनीमध्ये ११ वटाको मात्र नेटवर्थ १०० रुपैयाँभन्दा धेरै छ । सबैभन्दा कम नेटवर्थ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ५८ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी, भूगोल इनर्जीको ६४ रुपैयाँ ५४ पैसा, अप्पर स्याङ्गे हाइड्रोपावरको ६५ रुपैयाँ ७१ पैसा र मनकामना इन्जिनियरिङको ६९ रुपैयाँ नेटवर्थ रहेको छ ।
४ कम्पनीको प्रतिशेयर नेटवर्थ ७० रुपैयाँभन्दा कम छ । त्यस्तै, ९ वटाको ८० रुपैयाँ भन्दा कम नेटवर्थ देखिएको छ । यता, सबैभन्दा कम प्रतिशेयर आम्दानी अप्पर स्याङ्गेको देखिएको छ । यसको उक्त आम्दानी २४ रुपैयाँ ९४ पैसाले ऋणात्मक रहेको छ ।
यसरी प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी कम वा ऋणात्मक नै भएका कम्पनीहरुलाई समेत आइपीओ जारी गर्न स्वीकृति दिने धितोपत्र बोर्डले भने यस विषयमा लगानीकर्ता स्वयं नै सचेत भएर आवेदन दिनुपर्ने बताउदै आएको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले बेलाबेला १० कित्ताको नीतिले गर्दा पनि जस्तोसुकै कमजोर कम्पनीको आइपीओ बिक्री भएको बताउने गरेका छन् । उनले सर्वसाधारणले पनि सचेत भएर कमजोर कम्पनीको शेयर नकिन्नुपर्ने बताउँछन् । तर अति कमजोर कम्पनीलाई अनुमति दिनबाट रोक्न भने उनले चाहेको देखिँदैन ।
नियमअनुसार नै दिएको भनेर बोर्डका पदाधिकारी पन्छिने गरेका छन् । नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले प्रक्रिया पूरा गरेर आएका कम्पनीहरुलाई नियमअनुसार सार्वजनिक निष्कासन अनुमति दिएको बताए । कुनै पनि कम्पनीले पूँजी बढाउन र लगानी विस्तार गर्न सर्वसाधारणसँग रकम सङ्कलनका लागि आइपीओ जारी गर्छन् । यसमा सर्वसाधारणले शेयर खरिद गर्नुपर्ने बाध्यकारी अवस्था भने छैन । तर, १० कित्तामात्र खरिद गर्ने व्यवस्थाले गर्दा पनि जस्तोसुकै कम्पनीको शेयर बिक्री भएको जानकारहरु बताउँछन् ।
यता, वित्तीय अवस्था निकै खराब रहेका कम्पनीहरुले शेयरधनीलाई वर्षौंसम्म लाभांश वितरण गर्न नसक्ने देखिएको छ । यस्ता कम्पनीहरुले थप पूँजी बढाउन हकप्रद शेयरको सहारा पनि लिने गरेका छन् । बोर्डले कम नेटवर्थ भएका हाइड्रोपावरसहित अरु समूहका कम्पनीहरुलाई पनि शेयर बिक्री गर्न अनुमति दिइरहेको देखिन्छ । जस्तैः सिटी होटल, नेपाल रिपब्लिक मिडियालगायत कमजोर वित्तीय अवस्था भएका कम्पनीले पनि शेयर बिक्री गर्न अनुमति पाएका हुन् । हाल यही विषयलाई लिएर बोर्डको तीव्र आलोचना पनि भइरहेको छ । बोर्डले जस्तोसुकै कम्पनीलाई पनि आइपीओ बिक्री गर्न अनुमति दिन नहुने लगानीकर्ताले माग गरेका छन् । उनीहरुले शेयर सप्लाई तीव्र रुपमा आएकाले नै बजार थप घटेको भनेर आरोप लगाएका हुन् ।
नेटवर्थ के हो ?
सम्पत्तिमा दायित्वहरु घटाएर आएको रकम नै नेटवर्थ हो । सोही रकमलाई कम्पनीको शेयर संख्याले भाग गर्दा आउने फल नै प्रतिशेयर नेटवर्थ हो । यदि कम्पनी टाट पल्टिन्छ भने सामान्यतयः प्रतिशेयर नेटवर्थ बराबरको रकम त्यसले शेयरधनीलाई वितरण गर्न सक्छ भनेर बुझ्न सकिन्छ । यसकारण पनि विश्लेषकहरुले नेटवर्थ धेरै भएका कम्पनीमा लगानी गर्दा जोखिम कम हुने बताउँदै आएका छन् ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login