Connect with us
Advertisement

अनकन्टार जंगलमा कसले छाड्यो वृद्धलाई ?

Published

on

तागत सकिएर बुढ्यौलीले गलिसकेको शरीर थरथर काँपिरहेको अवस्थामा एक वृद्ध मोरङको अनकन्टार जंगलमा भेटिएका छन्। सुन्दरहरैँचा नगरपालिका–१ डाँगी टोलका अन्दाजी ७५ वर्षीय जामुनलाल ऋषिदेव बेलबारी नगरपालिका १ र ४ को सिमानास्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र भेटिएका हुन्। चारकोसे झाँडीभित्र वृद्ध एक्लै कसरी पुगे भन्ने यकिन भइसकेको छैन।

काँपिरहेको बेवारिसे अवस्थामा वन हेरालुहरूले उनलाई फेला परेका थिए। उनलाई मंगलबार बिहान ११ः३० बजेतिर बेलबारी नगरपालिकाका स्वास्थ्यकर्मी, नगरप्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। उद्धार गरेर सुरुमा उपचारका लागि बेलबारी नगर अस्पतालमा लगिएको थियो। त्यसपछि सुन्दरहरैँचा नगर अस्पतालमा भर्ना गरियो। थप उपचारका लागि बुधबार विराटनगरको कोशी अस्पताल ल्याइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की वृद्ध जामुनलाल कसरी एकान्त जंगलमा पुगेका हुन् भनेर अनुसन्धान भइरहेको बताउँछन्। उनका अनुसार थरथर काँपिरहेका र राम्ररी बोल्न नसक्ने वृद्ध सबै कुरा बताउन सक्दैनन्। नेपाली पनि राम्ररी बोल्दैनन्। वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। यद्यपि, कसले, कहाँबाट, कसरी वन क्षेत्रको बीच भागमा ल्याएर वृद्धलाई छाडेको हो भन्ने खुल्न बाँकी छ।

‘जंगलको बीचमा वृद्ध एक्लै फेला परेको भनेर वनका पदाधिकारीले प्रहरीलाई खबर गरेका थिए। वृद्ध आफ्नो नामसमेत भन्न सक्ने अवस्थामा थिएनन्,’ एसपी कार्की भन्छन्, ‘सबै पक्षसँग समन्वय गरेर जंगलबाट उद्धार गरी उपचारका लागि लगियो। स्वास्थ्य अवस्था ठीक भएर राम्ररी बोल्नसक्ने भएपछि धेरै कुरा खुल्छ भन्ने अपेक्षा छ।’

उनका अनुसार वृद्धले भनेको आफ्नो वतनका वडाध्यक्ष र गाउँटोलमा प्रहरी गएर फोटो देखाउँदै सोधीखोजी गरे पनि कसैले चिनेनन्। जनप्रतिनिधिलगायतसँग समन्वय गरेर थप खोजी गर्ने क्रममा सुन्दरहरैँचा–१ डाँगी टोलमा घर रहेको प्रहरीले पत्ता लगायो।

एसपी कार्की सुरुमा वास्तविक वतन र परिवारको अवस्था पत्ता लगाउनै समस्या भएको बताउँछन्। उनका अनुसार घटनाको प्रकृति हेर्दा कोही न कोहीले जंगलमा लगेर छाडिएको आशंका छ। वृद्धलाई छोरा–बुहारीले मोटरसाइकलमा ल्याएर ४ दिनअघि जंगलमा छाडिदिएको हल्लासमेत चल्यो। तर, यथार्थमा त्यस्तो नपाइएको प्रहरीले जनाएको छ।

‘कसैले जंगलमा छाडिएको हुनसक्ने अनुमान छ। तर, छोरा–बुहारीले चैं हैन,’ प्रहरी स्रोतले भन्यो, ‘वृद्ध केही समयदेखि घर छाडेर हिँडेका रहेछन्। बाहिरै बस्ने र उतै खाने गरेको खुल्यो।’ प्रहरीका अनुसार वृद्ध जामुनलालकी पत्नीको यसअघि नै मृत्यु भइसकेको छ। उनका दुई छोरा छन्।

जेठा छोरा जल्वा ऋषिदेव परिवारसहित घरमै र कान्छो छोरा दिनेश ऋषिदेव परिवारसहित भारतको हरियाणास्थित कुखुरा फार्ममा काम गरेर बस्ने गरेको प्रहरीले पत्ता लगाएको छ। सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीका अनुसार जेठा छोरा जल्वासमेत शारीरिक रूपमा अशक्त छन्। ‘राम्ररी हिँड्डुल गर्न नसक्ने उहाँले मोटरसाइकल चलाउन सक्ने कुरै भएन। लामो समयदेखि हाइड्रोसिलको बिरामी हुनुहुँदो रहेछ,’ चौधरी भन्छिन्, ‘तर, वृद्धलाई छोरा–बुहारीले जंगलमा छाडिदिए भनेर हल्ला चलाइयो। त्यो गलत रहेछ।’

उनका अनुसार वृद्ध जामुनलालका जेठा छोरा जल्वाको नै उपचार गराउनुपर्ने अवस्था छ। ऋषिदेव परिवार आर्थिक रूपमा अति विपन्न रहेकाले उपचारमा नगरपालिकाले सहयोग गर्ने उपमेयर चौधरीले बताइन्। उपचारका लागि प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरिने उनको भनाइ छ। ‘वृद्ध कसरी त्यहाँ पुग्नुभयो भन्ने थाहा भएन। घरमा लामो समयदेखि नबस्ने गरेको पाइयो,’ उनले भनिन्, ‘घर छाडेको धेरै भएको रहेछ। छोराले पनि हामीसँग १/१ वर्षमा मात्रै बुवाको भेट हुन्थ्यो भनेर भन्नु भएको छ।’

उनका अनुसार वृद्धले शुद्ध नेपाली बोल्न जान्दैनन्। ‘तंग्रिएर राम्ररी होसमा आइसकेपछि सबै कुरा खुल्छ होला। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ चौधरी भन्छिन्। घर छाडेर बाहिर बस्न थालेको १५ वर्षभन्दा धेरै भयो भनेर परिवारका सदस्यले भनेका छन्। बाहुनी, होक्लाबारीलगायतका ठाउँमा विभिन्न व्यक्तिका घरमा काममा सहयोग गर्ने र त्यहीँ खानेबस्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार छोराले सोधीखोजी गर्दा बाटो भुलेर म त्यहाँ पुगेँ भनेर वृद्धले भनेका छन्।

साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार वन क्षेत्रको निगरानी र गस्तीका लागि गएकाहरूले वृद्धलाई फेला पारेका हुन्। ‘जोकोही मानिस पुग्नै नसक्ने ठाउँमा जंगलको बीचमा लगेर छाडिएको रहेछ,’ उनले भने, ‘वनको गस्ती टोलीले फेला पारेको हो।’ वृद्ध फेला परेका वन क्षेत्रमा जंगली हात्तीको ‘मुभमेन्ट’ धेरै हुने गिरीले बताए।

‘जंगलमै लगेर छाडिएको चैं पक्का हो। बुढ्यौली अवस्थामा एक्लै हिँडेर जोकोही त्यहाँ पुग्न सक्दैनन्,’ उनले भने, ‘सुरुमा त छोरा–बुहारीले छाडिदिएको भनेजस्तो लागेको थियो। तर, वास्तविक कुरा हामीलाई थाहा भएन।’

बोरामा दुईतिर घोचा हालेर बनाइएको अस्थायी स्ट्रेचरमा बोकेर वृद्धलाई गाडी चल्ने ठाउँसम्म लगिएको र त्यहाँबाट अस्पताल पुर्‍याइएको जानकारी उनले दिए।

वृद्ध फेला परेको वन अनकन्टार र डरमर्दो रहेको गिरी बताउँछन्। ‘एकान्त जंगलमा जोकोही एक्लै पुग्नसक्ने अवस्था छैन। एकदमै डरमर्दो ठाउँ छ। त्यसमाथि हात्तीको चहलपहल धेरै हुन्छ। वृद्ध फेला परेको स्थान सवारीसाधन कुद्ने सडकबाट करिब डेढ किलोमिटरभित्र पर्छ,’ उनले भने।

(sabhar: annapurna post)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

Published

on

By

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार सबिना र उनका छोरा खतराभन्दा बाहिर छन् । ‘उहाँहरु आउट अफ डेन्जर हुनुहुन्छ,’ एसएसपी दाहालले भने, ‘ललितपुरका उहाँहरुलाई उपचारका लागि काठमाडौं पठाइँदै छ ।’

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

सो घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

 

Continue Reading

Banner

सुकुना बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

Published

on

By

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा यही बैशाख ६ र ७ गते हुन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।

सहायक क्याम्पस प्रमुख तथा सो शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दहालका अनुसार सम्मेलन सम्पन्न गर्न विभिन्न समिति, उपसमिति तथा सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको व्यवस्थापनमा ध्यान दिइएको छ ।

सम्मेलनका विविध विषयमा ७० ओटा कार्यपत्र प्रस्तुत हुने भएका छन् । विभिन्न तीन कि नोट स्पीकर मुख्य हलमा सम्पन्न हुनेछ । त्यसपछि साइन्स टेक्नोलोजी र म्याथ मेटिक्स, ह्युमेनिटिज एण्ड एजुकेसन तथा म्यानेजमेन्ट गरी तीन ठाउँमा कार्यपत्र प्रस्तुत हुने भएको छ । त्यसपछि ५ वटा सेसन सञ्चालन हुने बताइएको छ ।

कन्भेनर सदस्य गुणराज नेपालका अनुसार सम्मेलनमा नेपालका साथै भारत, चीन, अमेरिकासहित ७ देशका प्राध्यापक तथा शिक्षाविद्ले सम्मेलनमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ ।

सम्मेलनलाई सफल बनाउने विषयमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीबीच हिजो संयुक्त बैठक बसी छलफल भएको छ ।

बैशाख ६ गते बिहान ९ बजेदेखि ५ बजेसम्म र बैशाख ७ गते बिहान साढे ८ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । सम्मेलनमा ३०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।

Continue Reading

Banner

विराटचोकवासीलाई असर पारेको भन्दै विराटचोक– घिनाघाट सडक निर्माणको विषयमा सुन्दरहरैंचा नगरपालिकामा छलफल

Published

on

By

निर्माणाधीन विराटचोक– घिनाघाट सडक निर्माणमा भएको ढिलाइले पारेको असरका विषयमा जनप्रतिनिधि, स्थानीयवासी, व्यवसायीबीच छलफल भई काम छिटो सम्पन्न गर्न सबैसँग अपिल गरिएको छ ।

बैठकमा सहभागी सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार हिजो सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखको केदारप्रसाद गुरागाईँको कार्यकक्षमा छलफल भएको हो ।

सडक निर्माणका क्रममा स्थानीय सरोकारवाला घरधनी व्यवसायी एवम् पैदलयात्रीलाई पर्न गएको असुविधा तथा स्वास्थ्यमा परेको असरको बारेमा छलफल भएको थियो ।

सो सडक भएर चल्ने सवारी साधनलाइ अन्यत्र बाईपास गरेर छिटो भन्दा छिटो सहज ढंगले निर्माण कार्य सम्पन्न गर्न जिम्मेवार बन्नुपर्ने विषयमा छलफल गरी निर्माणाधीन सडकको अनुगमन गरिएको कार्कीले जानकारी दिनुभयो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending