Banner
आधुनिक मानिसको उत्पत्तिबारे नयाँ खुलासा

‘कोब्रा’ को निष्कर्षः आधुनिक मानव कम्तीमा दुई भिन्न पुर्खाहरूको उत्तराधिकारी
छोटो समयमा मानव उदविकास इतिहासको पटक पटक लेखन र पुनर्लेखनको बाटोमा आनुवंशिक अध्ययनले अध्येताहरूलाई डोहोर्याइरहेको पाइन्छ।
विश्वभरका विख्यात आनुवंशिक प्रयोगशालाहरूमा जारी डिएनए अध्ययनले मानव उदविकासको इतिहासमा रूचि राख्नेहरूलाई उसैगरी तरंगित र आश्चर्यचकित बनाउने काम पनि चलिरहेको छ।
तीन लाख पन्ध्र हजार वर्षअघि मोरक्कोको जेबेल इरहौदमा एउटा जिवाश्म पाइएको थियो। आजसम्म प्राप्त आधुनिक मानव भनिने होमो–सेपियन्सको सबभन्दा पुरानो जिवाश्म त्यसैलाई मानिन्छ।
कुनै मानव समूहबाट तीन लाख वर्षअघि भिन्न स्वरूपमा उदविकास भएर सुरूमा अफ्रिका र पछि बाँकी विश्वमा फैलिएका मानिसको उत्तराधिकारी नै आजका हामी मानिस हौं भन्ने एउटा आमधारणा छ। यो पुरामानवशास्त्रीय अध्ययनको क्षेत्रमा पछिल्ला केही दशकदेखि सघन भएको पाइन्छ।
अफ्रिकामा उद्भव भएपछि विभिन्न चरणमा होमो–सेपियन्सको समूह अफ्रिका बाहिर आए पनि त्यसले आफ्नो उत्तराधिकार छाड्न सकेन। यसरी अफ्रिकाबाट आप्रवासनका लागि बाँकी भूगोलमा विस्तारित हुने प्रयास होमो–सेपियन्सले दुई लाख दस हजार वर्षभन्दा पहिलेदेखि सुरू गरेको थियो। यो कुरा ग्रिसमा भेटिएको दुई लाख १० हजार वर्ष पुरानो होमो–सेपियन्सको जिवाश्मले प्रमाणित गरेको छ।
इसराइल, युरोपका विभिन्न भाग, मध्य एसिया र साउदी अरेबियामा एक लाख ८० हजारदेखि ८८ हजार वर्षसम्म पुराना होमो–सेपियन्सको जिवाश्म पाइए पनि तिनका उत्तराधिकारी आजको विश्वभरको जनसंख्यामा रहेको पाइँदैन।
आजभन्दा लगभग सत्तरी हजार वर्षअघि अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्किएको होमो–सेपियन्सको समूह नै आजका अफ्रिका बाहिरका तमाम मानव जनसंख्याको पुर्खा रहेको तथ्यमा आनुवंशिक अध्येता र आधुनिक नृवंशशास्त्रीहरू एकमत छन्।
यसरी करिब सत्तरी हजार वर्षअघि होमो–सेपियन्स अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्किएको परिघटनालाई नृवंशशास्त्रीहरूले अफ्रिका निस्क्रमण सिद्धान्त अर्थात् ‘आउट अफ अफ्रिका हाइपोथेसिस’ का रूपमा अर्थ्याएको पाइन्छ। अफ्रिकाबाट निस्किएर विस्तारित हुने क्रममा युरोप र एसियामा होमो–सेपियन्स (आधुनिक मानव) भन्दा अर्कै प्रजातिको मानवका रूपमा परिचित होमो–नियन्डरथलेन्सिस (नियन्डरथल मानव) र हामो डेनिसोवन (डेनिसोवन मानव) सँग एकापसमा यौन सम्बन्ध कायम भई अन्तरप्रजनन प्रक्रिया सम्पन्न भएको र एकअर्कामा आनुवंशिक सम्मिश्रण गराएको तथ्य आनुवंशशास्त्रीहरूले सार्वजनिक गरिसकेका छन्।
म्याक्स प्लांक इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजी, हार्वर्ड मेडिकल स्कुल, होवार्ड मेडिकल युनिट, रेख रिसर्च ल्याब, अक्सफोर्ड जेनेटिक ल्याब लगायतले यस्तो पलियोजेनेटिकको क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्।
आजको दिनमा विश्वमा मौजुद आधुनिक मानव जनसंख्यामा नियन्डरथल, डेनिसोवन, हब्बिट्स लगायत अन्य भिन्नै मानव प्रजातिको आनुवंशिक उत्तराधिकार रहेको तथ्यले मानवशास्त्रीय अध्ययनमा रूचि राख्नेहरूमा रोमाञ्च र तरंग पैदा गरेको थियो। त्यसलाई भत्काउँदै मंगलबार प्रसिद्ध विज्ञान जर्नल ‘नेचर’ मा प्रकाशित आनुवंशिक जर्नल आलेखले पलियोजेनेटिक्स र पलियोएन्थ्रोपोलोजीको क्षेत्रमा एक कसिमको कम्पन, तरंग, आश्चर्य र रोमाञ्च पैदा गरेको छ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका अध्येताहरू ट्रेभर कजिन, एउलविन स्कल्ली र रिचर्ड डुरविनको अनुसन्धानात्मक अध्ययनको निचोड मार्च १८ मा ‘नेचर’ मा प्रकाशित भएको केही घण्टा नबित्दै मानवशास्त्रीय अध्ययनमा सामेल तमाम आनुवंशीविद, नृवंशशास्त्री, पुरातत्वविदहरूमा हलचल पैदा भएको छ।
अध्येताहरूले आफ्नो अनुसन्धनात्मक आलेखमा उल्लेख गरेका छन् — आजभन्दा करिब १५ लाख वर्षअघि एउटा प्राचीन मानव जनसंख्या दुई भिन्न स्वरूपमा विभाजित/विकसित भयो। ‘ए’ र ‘बी’ गरी दुई भिन्न मानव समूहमा विभाजित सो जनसंख्या आजभन्दा तीन लाख वर्षअघि पुनः एकअर्काको सम्पर्कमा आए। एकआपसमा समागम गरेर आनुवंशिक सम्मिश्रण गराए। त्यसरी दुई भिन्न जनसंख्याको आनुवंशिक सम्मिश्रणको परिणाममा एउटा अर्कै स्वरूपको मानव विकास भयो। र, त्यो नै आधुनिक मानव भनिने होमो–सेपियन्स हो।
अध्येताहरूका अनुसार आधुनिक मानवको उदयमा समूह ‘ए’ ले ८० प्रतिशत र समूह ‘बी’ ले २० प्रतिशत आनुवंशिक योगदान दिएको छ। अर्थात्, आधुनिक मानवमा ८० प्रतिशत ‘ए’ नाम दिइएको मानव वंशको उत्तराधिकार छ र २० प्रतिशत ‘बी’ नाम दिइएको मानव समूहको उत्तराधिकार छ।
लामो समयसम्म पुरामानवशास्त्रीय अध्ययनको क्षेत्रमा के ठानिन्थ्यो भने — हामी आधुनिक मानव भनिने होमो–सेपियन्स एउटा सग्लो एकल जनसंख्याको उत्तराधिकारी हौं। आज संसारभर छरिएर रहेका आधुनिक मानवको पुर्खा करिब तीन लाख १५ हजार वर्षअघि अफ्रिकामा उदविकास भयो। र, एकल पुर्खाबाट जन्मिएका सन्तानहरू विस्तारित भएर बाँकी संसारभर फैलिए।
विगत दुई दशकयताका अध्ययनहरू यसमै केन्द्रित थिए। मंगलबार नेचर जर्नलमा प्रकाशित आलेखले भने यो एकल वंशजको उत्तराधिकारी हो भन्ने मान्यतालाई थप जटिल बनाइदिएको छ। त्यसमा प्रश्न उठाइदिएको छ। यो अध्ययनले हामी कम्तीमा दुई भिन्न मानव समूहको मिश्रणको परिणाम हौं भन्ने तथ्य सार्वजनिक गरेर मानव उदविकासको अध्ययनको क्षेत्रमा सनसनी नै मच्चाइदिएको छ।
यसअघिका अध्ययनहरू पनि होमो–सेपियन्समा नियन्डरथल, डेनिसोवन, हब्बिट्स सहितका मानव समूहको आनुवंशिक उत्तराधिकार रहेकामा सचेत थिए। तैपनि ती मिश्रणहरू करिब ५० हजार वर्षअघि अफ्रिकाबाट बाहिरिएको जनसंख्यामा मात्रै भएको उल्लेख छ। अफ्रिका बाहिरको जनसंख्यामा नियन्डरथलले २ प्रतिशत आनुवंशिक मिश्रण गराएको र त्यही मात्रा हाराहारीमा डेनिसोवनको आनुवंशिक योगदान रहेकामा त्यस्ता अध्ययनहरूको सहमति छ।
नयाँ अध्ययनले भने नियन्डरथल, डेनिसोवनहरूको आनुवंशिक मिश्रण आधुनिक मानवमा हुनुभन्दा धेरै पहिले नै दुई छुट्टै मानव समूहको आनुवंशिक मिश्रणको परिणाम स्वरूप आधुनिक मानवको उदय भएको निष्कर्ष निकालेको छ।
अनुसन्धानात्मक आलेख सार्वजनिक भएपछि प्रेस नोट जारी गर्दै अध्येता एइल्विनले भनेका छन्, ‘हाम्रो इतिहास हामीले सोचेभन्दा बढी समृद्ध र सोचेभन्दा बढी जटिल छ।’
जीनको पूर्ण सिक्वेन्स गर्दै, त्यसको उन्नत (एड्भान्स) विश्लेषण गरेर, डिएनए परिणाम हेर्दै यो नतिजा निकालिएको अध्येताहरूले जनाएका छन्।
अफ्रिका, एसिया, युरोप र अमेरिकाको जनसंख्याको डिएनए सिक्वेन्स गरेको ‘थाउजेन्ड (1000) जिनोम प्राजेक्ट’ र ‘ह्युमन जिनोम डाइभर्सिटी प्रोजेक्ट’ को अध्ययनको डिएनए डेटा प्रयोग गर्दै त्यसको विश्लेषणात्मक निष्कर्ष निकालिएको अध्येताहरूले जनाएका छन्।
थाउजेन्ड जिनोम प्रोजेक्टका डेटाहरूलाई ‘कम्प्युटेसनल अल्गोरिदम’ प्रयोग गर्दै कसरी प्राचीन मानवहरू एकापसमा छुट्टिएका थिए र ती कसरी कालान्तरमा फेरि एकापसमा गाभिए भनेर अध्येताहरूले हेरेका थिए। उक्त अध्ययनलाई उनीहरूले रिसर्च ‘कोब्रा’ मोडल नाम दिएका थिए।
मानव पुर्खा १५ लाख वर्षअघि साझा पुर्खाबाट दुई भिन्न समूहमा विभाजित भएपछि एउटा समूहमा जनसंख्या वृद्धिमा अवरोध आई निकै सानो संख्यामा खुम्चिएको उक्त अध्ययनले देखाएको छ।
उक्त समूहको जनसंख्या दस लाख वर्ष जतिको अवधिमा सुरूमा खुम्चिँदै, पछि क्रमशः बढ्दै गएको उनीहरूको धारणा छ। त्यही समूहले पछिबाट आधुनिक मानवमा ८० प्रतिशत जति आनुवंशिक उत्तराधिकारको योगदान गरेको देखिन्छ। त्यही समूहबाटै नियन्डरथल र डेनिसोवनको पुर्खाको समेत उदविकास भएको पनि उक्त अध्ययनको निष्कर्ष छ।
अर्को समूहबाट (जसले आधुनिक मानवमा २० प्रतिशत आनुवंशिक योगदान गरेको पाइएको छ) प्राप्त जीनले आधुनिक मानवलाई परिस्थिति र वातावरण अनुकूल आफूलाई बदलाव गर्ने (प्राकृतिक छनौटको सिद्धान्त) का लागि मद्दत गरेको अध्येताहरूले उल्लेख गरेका छन्।
उनीहरूका अनुसार, उक्त समूहबाट हाम्रो जीन तत्वहरूमा निकै कम योगदान भएको भए पनि, जति प्राप्त भएको छ, त्यसले मस्तिष्क सञ्चालन र स्नायु प्रशोधनका लागि चाहिने तत्वहरूमा उल्लेखनीय योगदान गरेको देखिन्छ। यसले आधुनिक मानवको उदविकास, परिमार्जन र विकासको चरणमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।
त्यसरी हाम्रो उदयमा महत्त्वपूर्ण आनुवंशिक उत्तराधिकार प्रदान गर्ने हाम्रा पुर्खा समूह को थिए भन्ने चाहिँ अध्ययनले किटान गरेर उल्लेख गर्न सकेको छैन।
अध्येताहरूले लेखेका छन्, ‘ती रहस्यमय पुर्खाहरू यिनै थिए भनेर किटानी गर्न सकिँदैन। त्यसबखत अफ्रिका र अफ्रिका बाहिर समेत उपस्थित होमो–इरेक्टस र होमो–हाइडेलवर्गेन्सिस थिए कि भन्नेमा हामी बढी केन्द्रित छौं। तर किटान गरेर भन्न थप अनुसन्धान जरूरी छ।’
उनीहरूको निष्कर्ष छ — अन्तर प्रजनन र आनुवंशिताको आदानप्रदानले जीवहरूको संसारमा नयाँ प्राणीको उदयमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
यसरी आज मौजुदा होमो–सेपियन्स एउटा सग्लो (सिंगल) जनसंख्याको उत्तराधिकारी नभई, कमसेकम दुई या सोभन्दा बढी मानव समूहको सम्मिश्रणबाट उदय भएको यो नयाँ दाबीले थप अनुसन्धानात्मक विवाद र प्रतिवादहरूको सामना गर्ने भने निश्चय नै छ।
( सेतो पाटी डट कम साभार )
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login