Banner
कस्तो छ तपाईँको आईफोनको ब्याट्री हेल्थ ? लामो समयसम्म फोन टिकाउन यी टिप्स अपनाउनुहोस्

आईफोनको ब्याट्रीको कुरा आउने बित्तिकै मानिसले सोध्ने पहिलो प्रश्न हो- फोनको ब्याट्री हेल्थ कस्ताे छ नि ? आईफोनमा ब्याट्रीको समस्यालाई लिएर बजारमा विभिन्न प्रकारका चर्चा हुने गर्छन् । यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ, अथवा नयाँ आईफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो लेख तपाईँका लागि उपयोगी हुनसक्छ ।
वास्तवमा आईफोनको ब्याट्री हेल्थ भनेको तपाईँको फोनको ब्याट्रीको अधिकतम क्षमता हो । नयाँ आईफोनको ब्याट्री हेल्थ १००% हुन्छ । तर समयसँगै यो घट्दै जान्छ । ८०% भन्दा कम ब्याट्री हेल्थ भएको आईफोनलाई मानिसले रुचाउँदैनन् । आईफोन ब्याट्री हेल्थ घट्नु सामान्य कुरा भएपनि यसलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न केही उपाय अपनाउन सकिन्छ ।
एप्पलले प्रमाणित गरेको चार्जर मात्र प्रयोग गर्नुहोस्
पछिल्ला केही वर्षहरूमा एप्पलले नयाँ फोनमा चार्जर दिन छोडेको छ । यसको अर्थ हो, एप्पल प्रयोगकर्ताले फोन खरिद गर्दा चार्जर पनि छुट्टै खरिद गर्नुपर्ने हुन्छ । यसकारण, धेरै प्रयोगकर्ताले आफ्नो फोन चार्ज गर्न बजारमा उपलब्ध कुनै पनि प्रकारका चार्जर प्रयोग गर्ने गरेका छन् । अथवा एउटा केबल खरिद गरेर अन्य कुनै एडप्टर प्रयोग गरेर पनि चार्ज गर्ने चलन छ ।
धेरैजसो अवस्थामा अन्य ब्रान्डका चार्जर एप्पलको तुलनामा सस्तो हुनसक्छ । तर तपाईँको ब्याट्री हेल्थको लागि, एप्पलले प्रमाणित गरेको चार्जरहरू प्रयोग गर्नु नै उपयुक्त हुन्छ । यसका साथै तपाईँले फास्ट चार्जरको प्रयोग नगर्नु पनि उपयुक्त हुन्छ ।
सामान्यतया फास्ट चार्जर प्रयोग गर्दा फोन तात्ने समस्या हुन्छ । यसले फोनको ब्याट्रीमा असर गर्छ । यसले गर्दा फोनलाई सामान्य चार्जिङ सपोर्ट गर्ने चार्जरबाट नै चार्ज गर्नु उपयुक्त हुन्छ ।
फोनलाई रातभर चार्जिङमा छोड्न म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्नुहोस्
धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको फोनलाई राति चार्जमा राखेर सुत्ने बानी हुन्छ । यसले गर्दा मानिसहरूलाई राति फोन चार्जमा नराख्नुस् भन्ने सल्लाहले खासै काम गर्दैन । यसको लागि प्रविधिले नै काम गर्नुपर्ने स्थिति हुन्छ ।
यदि तपाईँको पनि राति फोन चार्जमा राखेर सुत्ने बानी छ भने एप्पलको म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्न सक्नुहुन्छ । वायरलेस चार्जरले सामान्यतया वायर्ड चार्जरले भन्दा सुस्त काम गर्छ । यसले ब्याट्री तात्ने समस्या हुँदैन ।
ब्याट्रीको प्रतिशत सधैं २० देखि ८० को बिचमा राख्नुहोस्
तपाईँको आईफोनको ब्याट्री हेल्थ लामो समयसम्म राम्रो अवस्थामा राख्न सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो ब्याट्रीको लेभल । अर्थात् फोनमा कति प्रतिशतभन्दा कम ब्याट्री हुन नदिने अथवा कति प्रतिशतसम्म ब्याट्री चार्ज गर्दा पनि हुन्छ भन्ने विषयलाई ध्यान दिन जरुरी छ ।
स्मार्टफोनले लिथियम ब्याट्री प्रयोग गर्छ, जसमा सीमित संख्यामा चार्जिङ साइकल हुन्छ। चार्जिङ साइकल भनेको एकपटक चार्ज गरेर चार्जरबाट फोन निकाल्दाको समय भनेर बुझिन्छ । यो जति धेरै हुन्छ, त्यति नै चार्जिङ साइकल घट्दै जान्छ र तपाईंको ब्याट्रीको हेल्थ पनि कम हुँदै जान्छ ।
त्यसैले तपाईँको ब्याट्रीको चार्जिङ साइकल प्रयोग गर्नबाट बच्न तपाईँको ब्याट्रीलाई सधैं २० देखि ८० प्रतिशतको बिचमा राख्न उपयुक्त हुन्छ ।
फोनलाई अत्यधिक तापक्रमबाट जोगाउनुहोस्
तपाईँको स्मार्टफोनलाई अत्यधिक तापक्रममा राख्नु अथवा धेरै तातो हुने समयसम्म फोन प्रयोग गर्नु नराम्रो बानी हो । किनभने लिथियम ब्याट्रीमा प्रयोग हुने रसायनले तापक्रमका कारण गलत प्रतिक्रिया दिन्छ ।
आफ्नो स्मार्टफोनलाई प्रत्यक्ष घाममा पर्ने गरी प्रयोग गर्दा वा राख्दा, आफ्नो कारको ड्यासबोर्डमा राख्दा वा कुनै पनि प्रकारको तातोले ब्याट्रीको स्वास्थ्यलाई असर गर्नसक्छ । जब गर्मीका कारण ब्याट्री घट्न थाल्छ, यसले तपाईँको फोनको ब्याट्रीको लाइफ साइकल स्वतः कम गर्न थाल्छ।
अप्टिमाइज्ड ब्याट्री चार्जिङ फिचर एक्टिभेट गर्नुहोस्
यो फिचरको विषयमा धेरै आईफोन प्रयोगकर्तालाई थाहा नहुनसक्छ । यो फिचर मुख्यत: ती व्यक्तिहरूका लागि हो, जाेसँग वायरलेस चार्जर छैन, तर आफ्नो फोन रातभर चार्ज गर्ने बानी भने छ । आईओएसमा ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ नामक फिचर छ, जसले तपाईँलाई सुत्दा तपाईँको ब्याट्री व्यवस्थापन गर्न मद्दत गर्छ ।
यो फिचरले तपाईँको ब्याट्री चार्ज गर्ने तरिका व्यवस्थापन गर्न तपाईँले तपाईँको फोनलाई प्रयोग गर्ने र चार्ज गर्ने बानीलाई निगरानी गर्छ र सोही अनुरूप फोनको व्यवस्थापन गर्छ । यो फिचर एक्टिभेट गरेर फोन चार्ज गर्दा ८० प्रतिशत ब्याट्रीको लेभल पुगेपछि यसले चार्जिङलाई स्वतः रोक्छ ।
अन्य अवस्थामा भने तपाईँले आफ्नो फोनलाई १०० प्रतिशतभन्दा अगाडि अनप्लग गर्नुभयो भने यो फिचरले तपाईँलाई १०० प्रतिशत नपुग्दासम्म चार्ज जारी राख्न आग्रह गर्दछ । यसले तपाईँको ब्याट्रीलाई सुरक्षित रहन मद्दत गर्छ । यसका लागि सेटिङमा गएर ब्याट्री अप्सनमा ट्याप गर्नुहोस् ।
यसपछि ब्याट्री हेल्थ एन्ड चार्जिङ अप्सनमा ट्याप गरेर अप्टिमाइज्ड ब्याट्री चार्जिङ अप्सनलाई एक्टिभेट गर्नुहोस् ।
अन्य टिप्स
- ब्याट्री सेभिङ मोड प्रयोग गर्नुहोस्: फोनको ब्याट्री कम छ भने ब्याट्री सेभिङ मोड प्रयोग गर्दा फोनको पावर बचाउन मद्दत पुग्छ र ब्याट्री लाइफ बढ्छ ।
- चार्ज गर्दा केस हटाउनुहोस्: फोन चार्ज गर्दा यसको तापमान बढ्न सक्छ । तातोको प्रभाव कम गर्न केस हटाउनुहोस् ।
- सफ्टवेयर अपडेट राख्नुहोस्: एप्पलले बेलाबेला आईफोनको सफ्टवेयर अपडेट गर्छ । यसले ब्याट्री व्यवस्थापनमा सुधार ल्याउँछ । आफ्नो फोनमा नियमित सफ्टवेयर अपडेट राख्नुहोस् ।
- अनावश्यक एप्लिकेसन र सेटिङ हटाउनुहोस्: केही एप्लिकेसनहरूले अनावश्यक पावर खपत गर्छन् । यस्ता एप्लिकेसनलाई अनइन्स्टल गर्नु र अनावश्यक सेटिङ्गहरूलाई बन्द गर्नु उपयुक्त हुन्छ ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य6 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login