Connect with us
Advertisement

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

Published

on

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्रीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ ।

प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्ति हुन नसकेको र शिक्षक आन्दोलन लम्बिएको बुझाइ कांग्रेसको छ । यही बीचमा प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएपछि कांग्रेस झन् चिढिएको छ ।

प्रधानमन्त्रीको शैलीप्रति कांग्रेस असन्तुष्ट रहेको उपसभापति पूर्णबहादुर खड्काको मंगलबारको अभिव्यक्तिले पनि संकेत गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फर्किएपछि अर्को तरिकाले अघि बढ्ने खड्काले बताए । उनले भने, ‘सभापति फर्किएपछि हामी अर्को तरिकाले अघि बढ्नेछौं ।’ ‘अर्को तरिका’ कस्तो हुने भने विषयमा भने उनले केही खुलाएका छैनन् ।

कांग्रेस महामन्त्री गगन थापा भन्छन्- शिक्षकहरूलाई घर फिर्ता पठाउने जिम्मेवारी प्रधानमन्त्री ओलीले बोध गर्नुपर्छ ।

शिक्षा ऐन माग गर्दै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको बुधबार २२ दिन पुगेको छ । प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरेसँग संवाद गर्दा समेत शिक्षक महासंघ आश्वस्त हुन सकेको छैन । शिक्षकका मागमा गम्भीर हुन कांग्रेस नेताहरूले दबाब सिर्जना गरे पनि मूर्त रूप पाउन सकेको छैन ।

माग सम्बोधन गरी शिक्षकहरूलाई घर फिर्ता पठाउने जिम्मेवारी प्रधानमन्त्री ओलीले बोध गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापा बताउँछन् । संसद्‌को बर्खे अधिवेशनको सुरुमै शिक्षा विधेयक पारित गर्नेगरी समझदारी गर्न सकिने विकल्प पनि थापाले अघि सारेका छन् ।

‘चाँडोभन्दा चाँडो उहाँहरूलाई कक्षा कोठामा फिर्ता गराउनुपर्छ,’ थापा भन्छन्, ‘यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ । खासगरी प्रधानमन्त्री र सरकारमा बसेका साथीहरूलाई अझ बढी जिम्मेवारी बोध हुनुपर्छ ।’

महामन्त्री थापाका अनुसार शिक्षकका माग सम्बोधनका लागि मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले तत्कालै निर्णय गर्ने अवस्था छ ।

शिक्षकका माग सम्बोधन हुनेगरी सहमति जुट्न नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट नै राजीनामा दिनुपर्‍यो । यद्यपि, प्रधानमन्त्री ओलीले रघुजी पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका छन् ।

शुक्रबारबाट सदनको बैठक बोलाइएको छ । प्रतिपक्ष र सत्ता पक्षकै सांसदहरूले शिक्षकका माग सम्बन्धमा सरकारले गरेका कार्यको जवाफ खोज्नेछन् ।

संसद बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओलीले आफ्नै अग्रसरतामा शिक्षकहरूसँग सहमति गर्ने र शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाउनुपर्छ । थापा भन्छन्, ‘सरकारले गर्नसक्ने के-के हुन्, ती विषयमा अविलम्ब सहमति गरौं । प्रधानमन्त्रीले दलहरूको बैठक बोलाउनुहोस्, हामी तयार छौं ।’

शिक्षकका मागप्रति प्रधानमन्त्री ओली ‘अनुदार’ हुँदा सहमति जुट्न नसकेको कांग्रेसको बुझाइ छ । कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले शिक्षक आन्दोलन कमजोर बनाउने उद्देश्य राखेका छन् ।

प्रधानमन्त्रीले एमाले निकट शिक्षक संगठनलाई आफूले फिर्ता गराउने र कांग्रेसले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकलाई फिर्ता गराउनुपर्ने बताएका थिए । प्रधानमन्त्रीले भनेअनुसार स्वीकार गर्न कांग्रेस तयार भएन । कांग्रेस शीर्ष तहका नेता भन्छन्, ‘पेसागत माग लिएर सडकमा आएकालाई घर फर्क भन्न पार्टीले सक्दैन ।’

सरकारले तत्काल गर्नसक्ने, सदन खुलेपछि गर्नुपर्ने र संविधान संशोधनका बेला उठाउनुपर्ने विषयहरू छुट्याएर शिक्षकहरूलाई स्पष्ट गर्नुपर्ने कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत सरकारले सम्बोधन गर्नसक्ने माग सहमति गरेर पूरा गर्न नसकिने मागहरू यो यो कारणले सम्भव भएन भनी स्पष्ट गर्नुपर्ने बताउँछन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत/फाइल तस्वीर

राज्यको आर्थिक सामर्थ्यलाई मध्यनजर गरी सहमति खोज्नुपर्ने महत बताउँछन् । उनी भन्छन्, ‘शिक्षकका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्छ । राज्यको सामर्थ्यलाई मध्यनजर राखेर सम्भव हुने/नहुने शिक्षक साथीहरूले पनि महसुस गर्नुपर्छ ।’

शिक्षक महासंघको नेतृत्वमा पटकपटक शिक्षकले आन्दोलन गर्दै आएका छन् । यसअघि २०८० साल असोजमा भएको सहमति कार्यान्वयन नभएपछि शिक्षक महासंघ पुनः आन्दोलनमा उत्रिएको हो । त्यसेबला शिक्षकसँग सहमतिका लागि सरकारबाट तत्कालीन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सक्रिय भएका थिए ।

कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयलाई तत्काल निर्णय गरी टुङ्गो लगाउन सकिने कांग्रेस उपसभापति खड्का बताउँछन् । शिक्षक महासंघसँग विगतमा भएको सहमतिलाई केन्द्रमा राखी बाँकी कुरा सहमतिको आधारमा मिलाएर अब बस्ने संघीय संसदको बजेट अधिवेशनबाट टुङ्गो लगाउने गरी सहमति खोज्न खड्काको सुझाव छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर छनोट नभएकोमा कांग्रेस प्रधानमन्त्रीसँग थप सशंकित भएको छ । राज्यका अन्य निकायमा हुने भागबण्डा छोडेर भए पनि कांग्रेसको अडान गभर्नरमा छ । दुई महामन्त्री र संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सभापति देउवालाई गभर्नरको अडानबाट पछि नहट्न सुझाव दिएका थिए ।

नेता डा. कोइराला निकटका नेताहरूका अनुसार सभापति शेरबहादुर देउवासँगको भेटमा कोइरालाले गभर्नर कांग्रेसले छोड्न नहुने सुझाव दिएका थिए । कोइराला निकट एक नेताले भने, ‘गभर्नर नछोड्न सभापतिलाई शेखर दाइले सुझाव दिनुभएको थियो । व्यक्ति कसलाई बनाउने तपाईंको कुरा भयो, अरु छोडेर भए पनि गभर्नर नछोड्नु भनेर उहाँले सुझाव दिनुभएको छ ।’

सत्ता पक्षका नेताहरूको दाबीअनुसार विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउन सभापति देउवा सहमत हुनुमा गभर्नर पदसँग जोडिएको थियो । पार्टीका शीर्ष नेताहरू घिसिङलाई हटाउन नहुने पक्षमा हुँदाहुँदै देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि राख्दै कांग्रेसका नेताहरू दुई दलीय संयन्त्रको बैठकप्रति रुचि देखाउन छोडेका छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गत बुधवार राति भएको वार्तामा नेपाल प्रहरीका अबका दुई आईजीपी ओलीको चाहनामा नियुक्त हुने र गभर्नर देउवाले सिफारिस गरेअनुसार बनाउने सहमति भएको थियो । तर गभर्नरको नाम सिफारिस गर्न गठन भएको समितिका एक सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएसँगै नियुक्ति प्रक्रिया संकटतिर धकेलिएको छ ।

सिफारिस समितिको बैठक एक महिनासम्म बस्न नसक्नु, कांग्रेसले इच्छ्याएका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नहुनु, अदालतमा रिट दायर हुनु लगायतलाई कांग्रेसले संसयका रूपमा लिएको छ । भट्टको राजीनामा स्वीकृत गर्ने क्षेत्राधिकार डेपुटी गभर्नर निलम ढुंगानालाई छ । गभर्नरको प्रतिस्पर्धामा आफैं रहेकी ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् ।

प्रधानमन्त्री ओलीले राज्यका अंगहरूमा आफू अनुकूलका पात्रहरू नियुक्त गरेको बुझाइ कांग्रेसमा छ । त्रिभुवन विश्वविद्यालयमा ओलीले आफू निकटका व्यक्तिलाई नियुक्त गर्न उपकुलपतिमा डा. केशरजंग बराललाई राजीनामा दिन बाध्य पारेको कांग्रेसका एक शीर्ष तहका नेताले दाबी गरे । ‘त्रिवि, सेवोनमा ओलीकै मान्छे छन् । गभर्नरमा पनि चलखेल गर्दैछन्,’ उनी भन्छन्, ‘गभर्नरमा फेरि बिचौलिया खेल्न थाले ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि राख्दै कांग्रेसका नेताहरू दुई दलीय संयन्त्रको बैठकप्रति रुचि देखाउन छोडेका छन् । ३ वैशाखमा भएको संयन्त्रको बैठकमा उपसभापति खड्का र महामन्त्री थापा सहभागी भएनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending